सम्पादकीय
झापाको विर्तामोड व्यवसायीको निर्वाचनले गर्माएको छ । जिल्लाकै ओझ बोक्ने विर्तामोड उधोग वाणिज्य संघ अहिले नयाँ नेतृत्वको लागि तयारीमा जुटेको छ । संघ नयाँ नेतृत्वको लागि काम गरिरहेको छ भने व्यवसायी नेतृत्व चुन्न तल्लिन छन् । व्यवसायी नेताहरु वाणिज्य संघको नेतृत्व गर्न अग्रसर भएको पाइन्छ । आगामी फागुन १६ गतेलाई निर्वाचनको मिति घोषणा भइसकेको छ । निर्वाचन गर्न निर्वाचन अधिकृत र सहायक अधिकृतहरु समेत नियुक्ति भइसकेको छ । एक हिसावले वाणिज्य संघ निर्वाचनको मैदानमा छ ।
पूर्व नेपालको ठुलो बजार विर्तामोडमा वाणिज्य संघको नेतृत्वलाई महत्वका साथ हेरिन्छ । यहाँको बजार मात्र होइन अन्तर जिल्लाको मुख्य केन्द्र पनि विर्तामोड भएकाले यहाँका मुख्य संघ संस्थाको भूमिका सबैको चासोमा पर्छ । त्यसमध्ये विर्तामोड वाणिज्य संघ जिल्लाकै अगुवाई गर्न सक्ने भूमिकामा छ । यसले त्यो भूमिका निर्वाह गर्न सकिरहेको छ कि छैन ? पक्कै आम व्यवसायी र यस क्षेत्रका अगुवाले समीक्षा गरेको हुनुपर्छ । व्यवसायीका सानातिना झमेला मिलाउने मात्र काम गरेर वाणिज्य संघको दायित्व पुरा हुन सक्दैन । विर्तामोड क्षेत्रको व्यवसायिक जीवनलाई व्यवस्थित बनाउन भुमिका हुनुपर्ने थियो ।
बिर्तामोड वाणिज्य संघको काँधमा धेरै जिम्मेवारीहरु छन् । व्यवसायीको समस्या समाधान गरिएको भन्ने गरिन्छ । के अब व्यवसायीको समस्या सकिएको हो ? बिर्तामोडलाई व्यवसायिक हब बनाउन आधारभुत योजना अहिलेसम्म बन्न सकेको छैन । अव्यवस्थित रुपमा बजार अघि बढ्दैछ । व्यवस्थित बजारका लागि योजना बनेको छैन । सामान्य समस्या हो, बिर्तामोडको फोहोरमैला व्यवस्थापन । त्यसमा स्थानीय सरकारसँगको साझेदारी गर्नुपर्ने थियो । तर, अहिले नगरपालिका एक्लै व्यवस्थापनमा जुटिरहेको छ । बजार नै फोहोर हुँदा यहाँको स्वरुप कुरुप छ । कुरुप बजारमा व्यवसायीले कसरी व्यापार गरिहरेका छन् ? यसबारे संघ बेखवर छ । संघले कुनै बेला भवन निर्माण गरेको छ । त्यसबाहेक देखिने गरि काम हुन सकेका छैनन् । यसैले आगामी निर्वाचनमा मतदाताले नेतृत्व चयनमा विवेक पुर्याऊनुपर्छ । कुनै बेला वाणिज्य संघकै नेतृत्वमा बिर्तामोड हरियाली बनेको थियो । सामान्य सार्वजनिक शौचालय समेत थियो । तर, नत हरियाली छ नत सार्वजनिक शौचालयकै व्यवस्था गरिएको छ । स्थानीय सरकारलाई सबै छोड्ने हो भने संघको महत्व घटेर जाने निश्चित छ ।







प्रतिक्रिया