Banner news

चुनाव भए वरिष्ठ उपाध्यक्ष उठ्ने सुवास नेम्वाङको घोषणा

चुनाव भए वरिष्ठ उपाध्यक्ष उठ्ने सुवास नेम्वाङको घोषणा


काठमाडौं– नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले चुनाव भए वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

आकांक्षीहरुको संख्या बढेसँगै महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएकाबेला नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणपछि दोस्रो वरीयताको नेतृत्व दाबी गर्ने नेम्वाङ अर्को हेबिवेट नेता हुनुभएको छ ।

नेम्वाङले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताउँदै उपाध्यक्ष पदभन्दा माथि नै उम्मेदवारी (वरिष्ठ उपाध्यक्ष पद) दिने घोषणा गर्नुभएको हो । उहाँले सहमति भए मान्य हुने बताउँदै चुनाव भए मैदानमा उत्रने बताउनुभयो ।

एमाले विधानअनुसार ६८ वर्षीय नेम्वाङले अर्कोपटक नेतृत्व दाबी गर्न मिल्दैन । विद्यार्थी छँदा नै राजनीतिमा लाग्नुभएका नेम्बाङ भूमिगत कालदेखि नै कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको हो । नेकपा (एमाले)का तर्फबाट कानुन तथा न्याय मन्त्री हुनुभएका उहाँले संविधान सभा अध्यक्ष र सभामुखको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । उहाँकै नेतृत्वमा संविधानसभाबाट संविधान निर्माण भएको हो । नेम्बाङ संसदीय निर्वाचनमा इलामबाट हालसम्म अपराजित हुनुहुन्छ ।

शेयर गर्नुहोस :

0
Shares