Banner news

झापामा ट्राफिक सप्ताह सञ्चालन गरिदैं

झापामा ट्राफिक सप्ताह सञ्चालन गरिदैं


बिर्तामोड । सडक सुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्न झापामा साताव्यापी कार्यक्रम गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पुस ४ गतेबाट जिल्लाका बिभिन्न स्थानमा सवारी दुर्घटना न्यूनीकरण सम्वन्धी सचेतना मूलक कार्यक्रम गर्न लागेको हो ।
विशेष गरी पुस र माघ महिनामा हुस्सुका कारण सवारी सञ्चालनमा कठिनाई हुने हुँदा सडक सुशासन र दुर्घटना न्यूनीकरण सम्वन्धि कार्यक्रम गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय बिराटनगर र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम सञ्चालन हुने छ । झापामा पनि ट्राफिक सचेतना अभियान शुरु गरिने ट्राफिक प्रहरी कार्यालय प्रमुख निशेष चापागाईले जानकारी दिए ।

उनका अनुसार ट्राफिक सप्ताहको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले गर्ने कार्यक्रम छ । बिर्तामोडमा आयोजना हुने समारोहको उद्घाटन अघि सचेतना ¥याली सहित प्रभातफेरि गरिने छ भने सडक सुशासन सम्वन्धी अभिमुखीकरण समेत हुने छ ।
कार्यक्रममा जिल्लाभर रहेका विभिन्न सामाजिक संघ संस्था, सरकारी निकायका प्रमुख तथा प्रतिनिधी, यातायात व्यवस्था कार्यालय मेची, निजी तथा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाज, वुद्धिजीवी सहभागी रहेछन् । ट्राफिक सचेतना ¥यालीमा ४ सयभन्दा बढीको सहभागिता रहने अपेक्षा ट्राफिक प्रहरीको छ ।

कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतमा रहेका युनिटले प्रमुख चौकहरुमा ५ /५ जना विद्यार्थी, २/२ जना स्काउट स्वयमसेवक तथा २÷२ जना ट्राफिक प्रहरी बसेर सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, चालकको गल्ती औंल्याउने र उनीहरलाई ट्राफिक नियम सिकाउने, स्थानीय तह, सरोकारबाला निकाय, संघ संस्थासंग समन्वय तथा सहकार्य गरी प्रमुख मार्ग, सहायक मार्ग तथा फुटपाथमा हुने अब्यवस्थित पार्किङ, अस्थायी टहरा, वर्कसप, ग्यारेज, व्यापारिक प्रयोजनका सामग्री, निर्माण सामग्री हटाइने छ ।

स्कुल तथा कलेजका वसको समेत अनुगमन, भाडाका सवारीको अनुगमन तथा कागजात, सवारीको अवस्था, गति, पोशाकको प्रयोग, क्षमता तथा ओभरटेक सम्वन्धी प्रशिक्षण समेत प्रदान गरिने छ । सार्वजनिक सवारी साधनहरुमा डस्टविन, ज्येष्ठ नागरिक, महिला तथा अशक्तलाई आरक्षित सिटको प्रयोग भए नभएको समेत ट्राफिक सप्ताह अवधिभरि अनुगमन गर्ने कार्यक्रम रहेको निरीक्षक चापागाईले बताए ।

शेयर गर्नुहोस :

0
Shares