काठमाडौँ । हिमालय क्षेत्रका हिमनदी (ग्लेसियर) विगत सात सताब्दीको तुलनामा पछिल्ला ४० वर्षमा १० गुणा बढी पग्लेको एक वैज्ञानिक अध्ययनले देखाएको छ। साइन्टिफिक रिपोट्र्स नामक जर्नलमा सोमबार प्रकाशित एक प्रतिवेदनअनुसार हिमपहिरो,बाढी तथा तीव्र गतिमा हिउँ पग्लिँदा नेपाल, भारत र भुटानका बासिन्दालाई खतरा बढेको छ। कृषिमा आधारित लाखौं दक्षिण एसियाली जोखिममा छन्।
अनुसन्धानकर्ताका अनुसार हिमनदी पग्लिँदा प्रवाह हुने अत्यधिक पानीका कारण समुद्रको सतह बढ्ने,तल्लो तटमा डुबानको समस्या पर्ने तथा समुद्र किनारमा रहेका समुदायलाई चुनौती थपिने देखिएको छ। ‘दक्षिण एसिया क्षेत्रले यसअघि कल्पना गरेभन्दा अत्यन्त तीव्र हिसाबमा प्रभावित देखिएको छ,’ अध्ययनका सहलेखक युनिभर्सिटी अफ लिड्सका हिमनदी विज्ञ जोनाथन क्यारिभिकले भने, ‘हिमालयमा देखिएको यो परिवर्तन अन्यन्त छिटो गतिमा देखिएको छ।’
वैज्ञानिकले धेरै पहिलादेखि न्युजिल्यान्ड, ग्रिनल्यान्ड, पाटागोनियालगायत विश्वका अन्य भूभागका ठूला हिमनदीमा हिउँ घट्ने क्रमको अध्ययन गर्दै आएका छन्। तर हिमालय क्षेत्रमा हिउँ घट्ने क्रम अत्यन्त तीव्र रहेको नयाँ अध्ययनले देखाएको छ।
यो परिवर्तन ठ्याक्कै के कारणले भएको हो भन्नेमा अनुसन्धानकर्ताले यकिन गरेका छैनन् तर दक्षिण एसियामा मनसुनमा आएको परिवर्तनले यसो भएको हुन सक्ने अनुमान उनीहरूको छ। खनिज इन्धन बाल्दा हुने हरित गृह ग्यास उत्सर्जनका कारण हिमनदी तथा तालमा हिउँ पग्लने गरेको वैज्ञानिक मान्यता रहेको सन्दर्भमा नयाँ अध्ययनको नतिजा सार्वजनिक भएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।







प्रतिक्रिया