Banner news

झापा एमालेको अधिवेशन गर्न कार्यविभाजन

झापा एमालेको अधिवेशन गर्न कार्यविभाजन


बिर्तामोड । नेकपा एमाले झापाको आसन्न जिल्ला अधिवेशनका लागि कार्यविभाजन गरेको छ । बुधबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा बसेको ३० औं बैठकले अधिवेशनका लागि कार्यविभाजन गरेको हो । झापाको अधिवेशन बिर्तामोडमा पुस २३ गते हुने भएको छ ।

बैठकले जिल्ला अध्यक्ष चिन्तन पाठकलाई मुल व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी तोकेको छ भने प्रतिनिधि छनौट व्यवस्थापन समितिको संयोजकमा मदन अधिकारीलाई जिम्मेवारी तोकिएको छ । राजनीतिक प्रतिवेदन लेखनका लागि अध्यक्ष पाठक, सांगठानिक प्रतिवेदनका लागि सचिव अधिकारी र आर्थिक प्रतिवेदनका लागि कार्यलय सचिव शिव ढुङ्गेललाई जिम्मेवारी प्रदान गरिएको छ ।
बैठकले अधिवेशन सम्पन्न गर्नलाई विभिन्न उपसमितिहरु समेत बनाएको छ । हल व्यवस्थापन उपसमितिमा बद्री भट्टराई, खाद्य तथा यातायातमा गोपाल बुढाथोकी, सम्मानमा नरेश चुडाल, प्रचार प्रसारमा प्रेम गिरी, स्वास्थ्यमा घनश्याम अधिकारी, स्वागतमा चन्द्रा श्रेष्ठ, सांस्कृतिकमा शिव ढुङ्गेल र स्वयमसेवकमा तुलसी कार्कीलाई जिम्मेवारी दिइएको छ ।

अधिवेशनमा जिल्लाभरबाट १ हजार जना प्रतिनिधि सहभागी हुने छन् । त्यसका लागि बैठकले मापदण्ड समेत पारित गरेको छ । ५० जना सदस्य बराबर १ जना प्रतिनिधि (वडालाई निर्वाचन इकाई मानिने) , स्थानीय तहलाई निर्वाचन इकाई मानेर २५ दलित सदस्य बराबर १ जना प्रतिनिधि, सबै जनवर्गीय संगठनबाट ५-५ जना प्रतिनिधि, मजदुर इकाईबाट २० जना प्रतिनिधि, झापा–काठमाडौं सम्पर्क मञ्चबाट ५ जना प्रतिनिधि बन्न पाउनेछन् ।

झापामा २९ हजार एमाले सदस्य पुगेको बताइएको छ । जिल्लामा माओवादीबाट २३ सदस्य एमालेमा प्रवेश गरिसकेका छन् ।
जिल्ला अधिवेशनअघि सम्पन्न गरिने कार्यक्रमको तालिका समेत सार्वजनिक गरिएको कार्यलय सचिव शिव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार पुस १० गते वडा सदस्यदेखि केपी ओलीसम्मलाई बिर्तामोडमा सम्मान, १३ गते १५ पालिका कमिटीको बैठक, १४ गते १३१ वडा कमिटीको बैठक, १५ गते सबै वडामा विस्तारित भेला, १७ गते प्रतिनिधि छनौट, १९ गते जिल्ला कमिटी बैठक बस्नेछ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu