‘जग्गादाताले आम्दानी शिक्षा ,स्वास्थ्यमा खर्चिनु भन्नुहुन्थ्यो’
बिर्तामोड । झापा बिर्तामोडको कृषिथोक बजार स्थापनाको २५ वर्ष पुरा भएको छ । कृषि बजार स्थापनाको २५ वर्षमा पहिलो पटक स्थापना दिवस मनाइएको छ । कृषि बजार व्यवस्थापन समितिले शुक्रवार व्यवसायी, कर्मचारीलाई सम्मान र रक्तादान गर्दै पहिलो पटक स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसमा आयोजित कार्यक्रमका प्रमुख अतिथि चन्द्रडाँगी कृषि फर्मका प्रमुख विरेन्द्रराज पराजुलीले बजारको भौतिक संरचना भन्दा बजारको व्यवस्थापन मुख्य कुरा रहेको बताएका छन् । उनले बजारलाई व्यवस्थापन गर्न बजार समितिलाई आग्रह गरे । प्रमुख अतिथि पराजुलीले बजारका समस्याहरु चाङ लागेर बसेको बताएका छन् । उनका अनुसार बजारको विकासका लागि कर्मचारी, समिति र व्यापारी बिच एकता हुनुपर्छ । समितिका पदाधिकारीहरुले बजार व्यवस्थापनमा कार्यकौशलता देखाउनुपर्ने उनको भनाई छ । उनले बजारबाट हुने आम्दानी दैनिक रुपमा बैंकमा दाखिला हुनुपर्ने बताएका छन् ।

यस्तै, बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देनले कृषि थोक बजार व्यापारी र स्थानीयबासीको गहना भएको बताए । उनले नेतृत्व विहीन भएको बेला बजारले प्रगति गर्न नसकेको भन्दै समिति आएपछि आशा जागेको बताएका छन् । अध्यक्ष लिङ्देनले व्यापारीहरुलाई तोकिएको मापदण्डमा रहेर व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् । उनले भने, ‘अनाधिकृत रुपमा ठाउँ लिनेदिने काम विसंगतिको रुपमा रहेको छ । त्यस प्रकारको विसंगतिलाई हटाउन आग्रह गर्दछु ।’
कार्यक्रममा बजारका संस्थापक अध्यक्ष हर्कलाल गिरीले बजारलाई दुर्गतिको बाटोबाट जोगाउन आग्रह गरेका छन् । धेरै दुखले स्थापना गरेको बजार सबैलाई गरिखाने ठाउँ बनाउन गिरीले सूझाव दिएका छन् । उनले जग्गादाताबाट १ विगाह ३ कठ्ठा जग्गा लिएर बजार स्थापना गरेको जानकारी दिए । स्वर्गीय रामबाबु गिरीले बजारको आम्दानी शिक्षा र स्वास्थ्यमा खर्च गर्नु भन्दै जग्गा दिएको गिरीले सुनाएका छन् । उनले भने, – ‘अहिले बजारको आम्दानी के हुँदैछ ? शिक्षा र स्वास्थ्यको क्षेत्रमा खर्च भएको छ कि छैन ?’ उनका अनुसार कृषि थोक बजार तत्कालिन अनारमनीलाई पहिलो प्राथकिता, चारपाने, गरामनी र शनिश्चरेबासीका लागि दोस्रो प्राथमिकतामा व्यवसाय गर्न स्थापना गरिएको उनको भनाई छ ।
स्थापना दिवसको अवसरमा कृषि बजार व्यवस्थापन समितिले सुरक्षागार्ड विजय गुरुङ, ज्येष्ठ व्यवसायी रामाशंकर शाह, मासु व्यवसायी सुरमणी राजवंशी र दुग्ध व्यवसायी ख्याम प्रसाद अधिकारीलाई सम्मान गरिएको छ । बजारका अध्यक्ष कमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख निल कमल सिंह, उपभोक्ता हित संरक्षण मञ्चका ओमभक्त सेडाई लगायतले शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष पौडेलले हालसम्मको प्रगति र आगामी योजनाका बारेमा प्रतिवेदन समेत सार्वजनिक गरेका छन् । सोही अवसरमा ३० जनाले रक्तदान गरेका छन् ।







प्रतिक्रिया