बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले विरुद्ध गठबन्धन गर्नेहरुलाई पाहा पछारेजस्तो पछार्ने बताएका छन् । उनले एमालेसँग कुनै पनि दलहरु एक्लै चुनावमा आउन हिम्मत समेत नगरेको बताए ।

नेकपा एमाले झापाले आयोजना गरेको अभिनन्दन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचन भन्न साथ अन्य दलहरु एमालेलाई सम्झिने गरेको बताए । एमालेलाई सम्झिने वित्तिकै चुनाव सार्ने रणनीतिमा गठबन्धनहरु पुग्ने गरेको अध्यक्ष ओलीको भनाई छ । अध्यक्ष ओलीले अभिनन्दन ग्रहण गरेपछि भने,– जनताले गरेको विश्वास र आशा पुरा गर्न प्रतिवद्ध छु । झापाभरका कार्यकर्तालाई सम्बोधन गर्दै जनताको पवित्र भोटबाट एमाले बहुमतसहित सरकारमा आउने स्पष्ट पारे । अध्यक्ष ओलीले एमाले सेटिङ, धाँदली र परमादेश बिनै बुहमत ल्याउने दावी गरे ।
तीन दिनको कार्यक्रममा सहभागी हुन आएका उनले प्रतिक्रियावादीहरुका अगाडि बैशाखी टेके पनि गोडा नटेक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने, ‘म जनताको निम्ति प्रतिवद्ध छु, देश विरोधी, विकास विरोधीहरु सामु गोडा टेक्ने छैन ।’ एमालेसँग देश बनाउने नीति र योजना रहेको भन्दै समाजवाद ल्याउन एमालेको आवश्यकता रहेको बताएका छन् । अर्को प्रशंगमा कुरा गर्दै अध्यक्ष ओलीले प्रचण्ड, माधव नेपाल ,झलनाथ खनाल र वामदेव गौतमको स्वार्थका कारण एमाले सरकार हटाइएको आरोप लगाए । ‘उनीहरु पार्टीबाट बाहिर गए पनि एमालेको शक्ति कमजोर भएको छैन’ उनले थपे । कांग्रेसको पछि लाग्नेहरु वामपंथी नभएर हामपंथी भएको ओलीको टिप्पणी छ ।







प्रतिक्रिया