Banner news

सिटौला समूह झुक्यो : झापा कांग्रेस महामन्त्री शर्माको स्वागतमा जुट्यो

सिटौला समूह झुक्यो : झापा कांग्रेस महामन्त्री शर्माको स्वागतमा जुट्यो


झापा । नेपाली काङ्ग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माको सार्वजनिक कार्यक्रम ‘अघोषित बहिष्कार’ गरेको सिटौला समूह झापामा आफ्नो गुह्य रणनीतिबाट पछि हटेको छ । गृहजिल्ला झापाको पहिलो सार्वजनिक कार्यक्रम बहिष्कार गरेर अकर्मण्यता प्रदर्शन गरेको सिटौला समूह आफ्नो अघोषित रणनीतिमा पाँच दिन पनि टिक्न सकेन । 

बिर्तामोडमा महामन्त्री शर्माले पुस ७ गते राखेको ‘झापा र झापालीलाई सम्मान’ कार्यक्रम सिटौला समूहले बहिष्कार गरेको थियो । आफूहरूलाई आधिकारिक निमन्त्रणा नआएको बहाना बनाएर पार्टी नेतृत्वमा रहेका सिटौला समूहका कोही पनि नेता सो कार्यक्रममा गएनन् । 

झापा काङ्ग्रेसका निवर्तमान सचिव प्रेम सम्बाहाम्फेले सबै नेतालाई निमन्त्रणा गरेको सार्वजनिक रूपमै बताएपछि आलोचना सुरु भएको थियोे । पार्टी पंक्तिबाटै कार्यक्रम बहिष्कारको व्यापक आलोचना भएपछि सिटौला समूह महामन्त्री शर्मासहित झापाबाट केन्द्रीय सदस्य निर्वाचितलाई सम्मान गर्ने तयारीमा जुटेको छ । 

पुस २५ गते जिल्ला कार्यसमिति झापाले पार्टी कार्यालयमा सम्मान कार्यक्रम राखेको छ । पुस ७ गतेको कार्यक्रम थाहा नपाएझैँ गरेर बसेका जिल्ला समितिका पदाधिकारी र अन्य नेताको सल्लाहमा नै २५ गते स्वागत तथा सम्मान कार्यक्रम राखिएको स्रोतले बतायो ।

‘नेतृत्वले पुरानै दम्भ र गुटको धङधङी बोकेर महामन्त्रीको कार्यक्रम बहिष्कार गर्ने गम्भीर गल्ती ग¥यो,’ झापाका पुराना काङ्ग्रेस युवराज बिमलीले भने । नेतृत्वको आलोचना भएपछि स्वागतको कार्यक्रम राखेर गल्तीलाई ढाकछोप गर्न लागेको चर्चा अहिले झापामा चुलिएको छ । 

विचार प्रचार अभियानको व्यानरमा भएको शर्माको कार्यक्रममा काङ्ग्रेस झापाका पुराना नेता पुडानन्द शर्माले सोही दिन झापा काङ्ग्रेस नेतृत्व र नेताहरूको खुलेर आलोचना गरेका थिए । झापा र झापालीलाई सम्मान कार्यक्रमको सभापतिसमेत रहेका शर्माले भनेका थिए, ‘यस्तो सभ्य र भव्य कार्यक्रममा नआउनु राजनीतिक नेताहरूको संस्कार होइन ।’ 

उनले व्यक्तिगत इगो राखेर कार्यक्रममा उपस्थित नहुँदा राम्रो सन्देश नगएको टिप्पणी गरेका थिए । सो कार्यक्रममा सहभागी एक जना युवाले जिम्मेवार व्यक्तिले नै म्यासेज र भ्याइस म्यासेज पठाएर आफूहरूलाई कार्यक्रममा नजान भनेको बताए । यद्यपि, महामन्त्री शर्माको कार्यक्रममा आफूहरू सहभागी भएको उनले सुनाए । 

छेकबारका बाबजुद शर्माको स्वागतका लागि बाजागाजासहित सयौँ नेता कार्यकर्ता चन्द्रगढी विमानस्थल पुगेका थिए । बिर्तामोडको अग्रसेन भवनमा भएको सो कार्यक्रममा हजारौँ कार्यकर्ता उपस्थित भएपछि सिटौला समूह दबाबमा परेको थियो । 

कार्यक्रममा पुराना काङ्ग्रेस नेताहरू वीरमणि ढकाल, कृष्णप्रसाद मिश्र, गोपालकुमार बस्नेत र सहिद परिवारका अधिकांश सदस्य उपस्थिति थिए । सो सूचना पाएको सिटौला समूह त्यही बेलादेखि आफ्नो कमजोरी ढाकछोप गर्ने बहानाको खोजीमा लागेको थियोे । थप आलोचना हुनबाट जोगिन र आफूहरूले गल्ती नगरेको देखाउन स्वागत कार्यक्रम राखिएको सिटौला समूहइतर नेता कार्यकर्ताको टिप्पणी छ ।

कार्यक्रममा नगएपछि सञ्चारमाध्यमले सिटौला समूहद्वारा शर्माको कार्यक्रम बहिष्कार भनेर समाचार प्रकाशन, प्रशारण गरे । त्यसपछि त सिटौला समूह झन् ठूलो दबाबमा परेको थियोे । महामन्त्री शर्माको कार्यक्रमको तीन दिनपछि अर्थात् पुस १० गते काङ्ग्रेस प्रदेश १ सभापति उद्वव थापाले आफ्नो लक्ष्य गुटरहित राजनीति भएको सार्वजनिक अभिव्यक्ति दिएर आफ्नो पक्षको बचावट गरेका थिए । 

काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ प्रदेश (क) समितिले मोरङ उर्लाबारीको बेतिनीमा आयोजना गरेको वनभोज कार्यक्रममा सभापति थापाले गुटउपगुट समाप्त गर्ने अभिव्यक्ति दिएपछि आलोचना झन् चुलियोे । आफ्नै जिल्लाबाट निर्वाचित ‘महामन्त्रीको कार्यक्रममा नआउने वनभोजमा गएर राजनीतिक भाषण गर्ने’ भन्दै काङ्ग्रेस कार्यकर्ता सभापति थापाको आलोचनामा खनिए । 

चौतर्फी आलोचना भएपछि काङ्ग्रेस जिल्ला समिति झापा महामन्त्री शर्मालगायत नवनिर्वाचित केन्द्रीय सदस्य, प्रदेश १ सभापति थापा र नवनिर्वाचित प्रदेश सदस्यको सम्मान कार्यक्रम राख्न बाध्य भएको हो । शर्मालाई मात्रै सम्मान गर्दा आफूहरू झुकेको सन्देश जाने देखेर यो नयाँ उपाय निकालिएको विषय पनि चर्चामा छ । 

सोमबार झापा काङ्ग्रेसको पद हस्तान्तरण कार्यक्रममा पार्टीका पाका नेता तथा पूर्वसांसद डिल्लीप्रसाद सिटौलाले कुम मिलाएर केही पनि नहुने र मन मिलाउन जिल्लाका नेतालाई भनेपछि जिल्ला नेतृत्व थप दबाबमा परेको छ । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सिटौलाले भनेका थिए, ‘यहाँ कुम मिलाएर र हामी एकजुट छौँ भनेर केही हुँदैन, मन मिलाउनुस् नत्र काङ्गेसलाई खतरा छ ।’

सोही कार्यक्रममा केन्द्रीय सदस्यका पराजित उम्मेदवार सुधीरकुमार शिवाकोटीले जित्नेको नेतृत्व प्रदेश सभापति थापा र जिल्ला सभापति देउकुमार थेवेले र हार्नेहरूको नेतृत्व आफू र जिल्ला सभापतिका पराजित उम्मेदवार राम कट्टेलले गर्ने खुला अभिव्यक्ति दिएपछि काङ्ग्रेसको झापा जिल्ला नेतृत्व पूर्ण दबाबमा परेको हो । 

कार्यक्रम चलिरहेकै बेला सभापति थेवेले हलमा नै खुल्ला प्रस्ताव राखेर विजेतालाई सम्मान, तुर्सा हेमरम स्मृति दिवस र राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय अनुमोदन गराएका थिए । प्रदेश र जिल्ला नेतृत्व महामन्त्री शर्माको कार्यक्रममा सहभागी नभएको विषयलाई लिएर सिटौला समूहभित्रै असन्तुष्टि देखिएको छ । नेतृत्वको आलोचना बढ्दै गएपछि महामन्त्री शर्माको पहिलो कार्यक्रम बहिष्कार गरेको सिटौला समूह झुक्न बाध्य भएको हो ।

शेयर गर्नुहोस :

0
Shares