बिर्तामोड । दलित महिला केन्द्र नेपालको आयोजनामा झापाका ६ पालिकाका महिलाहरुलाई नेतृत्व विकास प्रशिक्षण प्रदान गरिएको छ ।
स्थानीय तहमा प्रभावकारी ढंगले आफनो भूमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरुलाई चाहिने सीप र ज्ञान प्रदान गर्न प्रशिक्षण प्रदान गरिएको कार्यक्रम संयोजक सम्झना पोखरेलले जानकारी दिइन् । उनका अनुसार झापासहित मोरङ, सुनसरी, ओखलढुंगा र खोटाङका २६ पालिकाहरुमा ‘शी लिड्स’ नामक अभियानमार्फत नेतृत्व विकाश प्रशिक्षण दिइएको हो ।

झापाको विर्तामोडस्थित डेनियल होटलमा आयोजित चार दिने कार्यक्रममा विर्तामोड नगर क्षेत्रका २० जना महिला जनप्रतिनिधिहरु सहभागी छन् । जनप्रतिनिधि महिलाहरुलाई आफ्ना हक अधिकार र नियम कानुन बारे प्रशिक्षित गराइएको छ’, प्रशिक्षक नवीना सापकोटाले भनिन,‘उहा“हरु आगामी चुनावमा थप जिम्मेवारी वहन गर्ने योजनाका साथ तयारीमा जुट्न थाल्नु भएको छ ।’
चरणवद्ध रुपमा संचालित कार्यक्रमले जनप्रतिनिधि महिलाहरुमा आत्मविश्वास बढ्नुका साथै राजनीतिक संवादमा सहभागी बन्न पनि प्रेरित गरेको मुख्य प्रशिक्षक सोमराज ढकालले बताए । प्रशिक्षणमा सहभागी एक जनप्रतिनिधि कमला महराले भनिन्, ‘प्रशिक्षणले हामी जस्ता महिलाहरुको जीवनमा ठूलो परिवर्तन ल्याएको छ, हामी हिजो जे थियौ, आज छैनौ ।’
लैंंगिक विश्लेषक आरती चटौजका अनुसार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि महिलाहरुको राजनीतिक सहभागिता वृद्धि गर्न जरुरी रहेको छ । हाल देशभरका ७ सय ५३ स्थानीय तहमा महिला जनप्रतिनिधिको संख्या करिव ४० दशमवल ९६ प्रतिशत छ । स्थानीय तहको प्रमुख र अध्यक्ष पदमा महिला सहभागिता २ दशमवल ३९ प्रतिशत मात्रै छ भने , उपप्रमुख र उपाध्यक्ष तहमा ९३ प्रतिशत छ ।
शी लिड्सले यसअघि पनि दमक, कमल, शिवसताक्षी, विर्तामोड, अर्जुनधारा र वुद्धशान्तिमा पहिलो र दोस्रो चरणको प्रशिक्षण प्रदान गरिसकेको छ । ‘यो अन्तिम चरणको कार्यक्रम हो’, मुख्य प्रशिक्षक ढकालले भने, ‘जिल्लाका सय बढी महिलालाई प्रशिक्षित गराइएको छ ।’







प्रतिक्रिया