Banner news

वीरता लेडी जेसीजमा विवाद झनै चर्कियो, निर्वाचन समितिका सदस्यद्वारा राजीनामा

वीरता लेडी जेसीजमा विवाद झनै चर्कियो, निर्वाचन समितिका सदस्यद्वारा राजीनामा


बिर्तामोड । बिधिको शासनको वकालत गर्ने वीरता लेडी जेसीजमा ब्यक्ति हावी हुँदा १० दिनसम्म नयाँ नेतृत्व चयन हुन सकेको छैन । यसअघि सर्बसम्मत नेतृत्व चयन गर्दै आएको लेडी जेसीजको अध्यक्षमा चारजना आकांक्षी देखिएपछि नेतृत्व चयन हुन नसकेको हो ।

लेडी जेसीजमा संगिता चिमरीया, संगिता गिरी, कामना उप्रेती र युनिता दवाडी अध्यक्षका आकांक्षी छन् । चिमरीया र गिरी अध्यक्षका बलिया प्रतिष्पर्धी हुन् । चिमरीयाले बिगत दुई बर्ष अर्काे ब्यक्तिलाई अध्यक्ष हुन छोडेको हुनाले आफुले २०२२ को नेतृत्व पाउनुपर्ने दावी गर्दै आएकी छन् ।

चिमरीयाको उम्मेद्वारी बिरुद्धमा निर्वाचन समितिमा उजुरी परेपछि बिवाद शुरु भएको हो । जेसीज स्रोतका अनुसार उमेर हदका कारण चिमरीया अध्यक्ष हुन अयोग्य भएको भन्दै निर्वाचन समितिमा उजुरी परेको छ । चिमरीयाले वीरता लेडी जेसीजमा स्थापनादेखि नै उमेर हद नहेरिएको र यो पटक मात्र बिवाद निकालिएको बताइन् ।

सर्वसम्मत अध्यक्ष चयन गर्न निर्वाचन समितिले १० दिनसम्म प्रयास गरे पनि सफल हुन सकेको छैन । चुनावमा जाने सदस्यको चहानालाई निर्वाचन समितिले ‘बिगतको नजिर’ टिकाउन भन्दै आनाकानी गरिरहेको उनीहरुको आरोप छ । लेडी जेसीज स्थापनादेखि हालसम्म दुई बाहेक सम्पुर्ण अध्यक्षहरु ४० बर्षभन्दा माथिका छन् । जेसीज बिधानमा अध्यक्ष हुन ४० बर्षको उमेर हद् तोकिएको छ ।

नेतृत्व चयनलाई लिएर वीरता लेडी जेसीजमा बिवाद बढ्दै गएपछि निर्वाचन समितिका एक सदस्यले राजीनामा दिएका छन् । निर्वाचन समिति सदस्य उमाकान्त खनालले अनावश्यक दवाव आएको भन्दै राजीनामा दिएको बताएका छन् । खनालले ‘दलका नेता कार्यकर्ताका निरन्तर फोन, बिगतको नजिर, तथा निर्वाचन समितिलाई स्वतन्त्र ढंगले काम गर्ने वाताबरण नभएको’ भन्दै राजीनामा दिएको घोषणा गरेका छन् ।

‘शासन व्यक्तिको होइन, विधिको हुनपर्छ’ भन्ने जेसीजमा पछिल्लो समय व्यक्तिवाद हावी हुुन थालेपछि बिवाद उत्पन्न हुन थालेको कतिपय सदस्यहरुको भनाई छ । १७ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनपछि नयाँ नेतृत्वको विषयले लेडी जेसीजमा विवाद चर्किएको हो । साझा सामाजिक संस्था भनिए पनि कांग्रेसको घेराबन्दीभित्र रहेको वीरता लेडी जेसीजमा गैर कांग्रेसले नेतृत्व गर्ने अवस्था आएपछि विवाद शुरु भएको छ ।

‘बिवाद किन र कसरी उत्पन्न भयो भनेर हामी आफै छक्क परिरहेका छौं, निर्वाचन समितिका संयोजक सुस्मा पौडेलले भनिन्–‘सहमतिबाट नेतृत्व चयन गर्ने वीरता लेडी जेसीजको परम्परालाई कायम राख्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’ उनले आफु पनि बिधान बमोजिम जाउँ भन्ने पक्षमा रहेको बताईन् । तर, उनै पौडेल २०२० मा बिधान बिपरीत अध्यक्ष भएकी थिइन् ।

‘यसअघि बिधान हेरिएन, पौडेलले भनिन् ‘कम्तिमा अब बिधानलाई फलो गर्नुपर्छ भन्ने आवाज उठेको छ, यो सकारात्मक हो ।’ उनले लेडी जेसीजको नेतृत्व चयनका सन्दर्भमा के गर्ने ? भनेर निर्णय लिन नसकेको बताइन् ।

सहमति कार्यान्वयन नहुँदा लेडी जेसीजको शाखा अधिवेशन विवादमा तानिएको छ । उमेर हदको विषयमा चर्चा शुरु भएकाले कतिपय सदस्यहरुले यसअघिका अध्यक्षहरुको उमेर छानविनको माग समेत गर्न थालेका छन् । उनीहरुको उमेर छानविन भए संस्था खारेज हुनेसम्मका तर्क उठ्न थालेका छन् ।

शेयर गर्नुहोस :

0
Shares