Banner news

झापामा क्रिप्टोकरेन्सीका लगानीकर्तामाथि निगरानी

झापामा क्रिप्टोकरेन्सीका लगानीकर्तामाथि निगरानी


झापा । झापामा क्रिप्टोकरेन्सीमा आवद्ध भई लगानी गर्नेहरुमाथि निगरानी बढाइएको छ । सुरक्षा अधिकारीहरुका अनुसार क्रिप्टोकरेन्सीमा लागेर अवैध कारोवार बढिरहेको सूचनाका आधारमा निगरानी बढाइएको बताइएको छ ।

लगानीपछि आम्दानीको निश्चित हुने भन्दै क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरु धेरै जसो युवा समूह भएको एक अनुसन्धानबाट खुलेको छ । प्राप्त सूचना अनुसार १ लाख ३० हजार लगानी गर्दा मासिक १८ हजार र ६५ हजार लगानी गर्दा मासिक ९ हजार आम्दानी हुने लगानीकर्ताहरु बताउछन् । क्रिप्टोकरेन्सी नेटवर्किङ नै भएकाले लगानी जोखिम हुने जानकार बताउँछन् । आम्दानीको लोभले लगानी बढिरहेको एक तथ्याङकले देखाएको छ ।

मंगलवार मात्रै नेपाल राष्ट्र ब्यांकले क्रिप्टोकरेन्सीको कारोबारमा नलाग्न सर्वसाधारणलाई आह्वान समेत गरेको छ । क्रिप्टोकरेन्सी सम्बन्धी जानकारी दिन मंगलबार गर्भनरको कार्यालयले सूचना जारी गरी सचेत गराएको हो । छोटो समयमा उच्च प्रतिफल आउने प्रलोभनमा परेरमा यसको कारोबारमा लाग्न नहुने राष्ट्र ब्यांकले जनाएको छ ।

यससँगै ब्यांकले स्वदेश तथा विदेशमा रहेका नेपाली क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको पाइएको जनाएको छ । यसले कानूनी कारबाही हुनसक्ने तर्फ ब्यांकले सचेत गराएको छ ।

सूचनामा ‘छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आवद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुने तथा कानूनी झन्झट आउन सक्ने भएकाले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत हुन’ आह्वान गरिएको छ ।

राष्ट्र बैंकले भनेको छ ‘क्रिप्टोकरेन्सी तथा यससँग सम्बन्धित कोषमा लगानी गर्ने तथा नेटवर्क मार्केटिङ आबद्ध हुने जस्ता क्रियाकलापमा युवा जनशक्ति आकर्षित हुन सक्ने भएकोले युवावस्थामै अवैधानिक आर्थिक क्रियाकलापमा संलग्न हुँदा व्यक्तिगत जीवन र मुलुकको आर्थिक सामाजिक व्यवस्थामा समेत नकारात्मक असर पर्ने देखिन्छ ।’

कुनै वित्तीय संस्थाको मध्यस्थताविना नै रकमान्तर हुने, बेनामी कारोबार हुने र यसको लेखाङ्कन कुनै बैंक वा खास संस्थाले नभई विकेन्द्रीकृत रूपमा ब्लकचेन प्रविधिमार्फत गरिने भएकाले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत हुन राष्ट्र बैंकले आग्रह गरेको हो ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu