सम्पादकीय

स्थानीय चुनावमा गठबन्धन घातक

स्थानीय चुनावमा गठबन्धन घातक


सम्पादकीय
स्थानीय तहको आसन्न निर्वाचनमा भरतपुरको मेयर माओवादीले कुनै हालतमा नछोड्ने बताइरहको छ । यता, नेपाली कांग्रेसले गठबन्धन गरे पनि भरतपुर कांग्रेसलाई छोड्नुपर्ने तर्क अघि सारेको छ । नेपाली कांग्रेसका नेताहरुले कडाईका साथ भरतपुर कांग्रेसले पाउनुपर्ने माग अघि सारेका छन् । निर्वाचनको संघारमा मुलुक अघि बढिरहेको बेला सत्तारुढ दल निर्वाचनमा गठबन्धन गरेरै जाने तयारी गरिरहेको छ । तर, भागवण्डामा मेलमिलाप भइहाल्ने परिस्थिति छैन । वास्तवमा, एक कार्यकाल माओवादीले नेतृत्व गरिसकेको हुँदा भाग नै मिलाउने हो भने कांग्रेसले पाउनुपर्ने माग स्वभाविक मान्न सकिन्छ ।

निर्वाचनमा दलहरु बिच गठबन्धन हुँदै आएको छ । विगतमा पनि नभएको होइन । तर, गठबन्धनका धेरै बेफाइदाहरु छन् । गठबन्धन अर्थात धेरैभन्दा धेरै दल मिलेर चुनावमा गए भने असल उम्मेद्वार पराजित हुन सक्छ । समाजले चाहेको, वडा वा नगरको आवश्यक प्रतिनिधि नै पराजित भयो भने पाँच वर्ष पश्चाताप मै वित्छ । पाँच वर्षको समय विकास र समृद्धिका लागि सदुपयोग नहुन सक्छ । यसैले स्थानीय चुनाव भनेको स्थानीय प्रतिनिधि छनौटमा मतदाताले स्वतन्त्र रुपमा प्रतिनिधि छनौट गर्न पाउनुपर्छ ।

गठबन्धन गरेर धेरैभन्दा धेरै दल एक ठाउँ उभिएर निर्वाचनमा सहभागी हुँदै गर्दा सक्षम, योग्य र पालिकाको आवश्यक प्रतिनिधि उम्मेद्वार नबन्न सक्छ । किनभने, भागवण्डाले योग्य उम्मेद्वार दिने संभावना कम हुन्छ । भागवण्डा जस्तोसुकै व्यक्ति उम्मेद्वार हुन सक्छ । दलहरुमा जतिसुकै गठबन्धन भए पनि मतदातामा स्वतन्त्रता भयो भने असल जनप्रतिनिधि छनौटमा समस्या हुने छैन । मानौं, बहुमत नै छ भने असामाजिक व्यक्ति पनि विजयी हुन्छ । त्यसैले आसन्न निर्वाचनमा गठबन्धनको उम्मेद्वार पहिचानमा विवेक पुराउनुपर्छ । सक्षम, योग्य र विकासप्रेमीलाई जनप्रतिनिधि बनाउनुपर्छ ।

शेयर गर्नुहोस :

0
Shares