सम्पादकीय
झापामा निजी तथा आवासीय विधालय अर्गनाइजेशन (प्याब्सन) ले पुस्तक व्यवसायीमाथि भेदभाव गरेको आरोप लागेको छ । प्याब्सनले निश्चित पब्लिकेशन तोकेर किताव खरिद गर्न गरेको निर्णय विरुद्ध अधिकांश व्यवसायी विरोधमा उत्रिएका छन् । बेदान्त र संगम पब्लिकेशनको गणित र विज्ञान विषय तोकेको भन्दै अन्य पब्लिकेशनका प्रतिनिधिहरु विरोधमा उत्रिएको विषयलाई सम्बन्धित सरोकारवालाले सम्बोधन गर्नुपर्छ । पुस्तक व्यवसायीमाथि सिण्डिकेट चलाएको हो वा अन्य केहि हो भने प्याब्सनले स्पष्ट पार्नुपर्छ ।
संस्थागत विधालयहरुमा किताव विक्रेताहरुका अनेकौ ‘स्कीम’ हुन्छ । सिधाभाषामा भन्ने हो भने कमिशन नै दिएर पुस्तकको व्यापार गरिरहेको सबैलाई स्पष्ट छ । कतिपय पब्लिकेशनहरुले प्रिन्सिपललाई ल्यावटप दिएर आफ्नो पब्लिकेशनको किताव बेचाएको धेरै पुरानो भएको छैन । पब्लिकेशनमा पनि विभिन्न किसिमका विकृतिहरु छन् । बिकृति सुधारका लागि पनि प्याब्सनले यो कदम लिएको हुनुपर्छ । यदि त्यसो हो भने सबै पब्लिकेशनहरुलाई यसबारे स्पष्ट पार्ने दायित्व प्याब्सनको हो ।
निजी विधालयहरुमा वर्षभरि कितावको हाहाकार हुने गर्छ । त्यसको मुख्य कारण भनेको छासमिसे पब्लिकेशनहरुको किताव खरिद नै हो । विधार्थी किताव नपाएर वर्षभरि समस्यामा पर्छन् । एउटै पब्लिकेशन नहुँदा विधालयहरुलाई किताव खोज्न पनि समस्या हुन्छ । अर्को, कुरा उत्कृष्ट किताव मात्रै राख्न पाउने विधालयसँग अधिकार छ । त्यसमा पब्लिकेशनहरुले आपत्ति जनाउनुपर्ने कारण छैन । तर, प्याब्सनले किताव तोकेपनि पब्लिकेशन तोक्ने काम बेठिक हुन सक्छ । त्यसबारे आवश्यक छलफल र परामर्श गर्न जरुरी छ । पब्लिकेशनमाथि समान व्यवहार गर्दै प्याब्सनले उत्कृष्ट किताव खरिद गरोस् । विधार्थी विगतमा जस्तो किताव अभावले भौतारिनु नपरोस् ।







प्रतिक्रिया