सम्पादकीय

बिर्तामोडमा कसले ल्याइरहेको छ अवैध कपडा ?

बिर्तामोडमा कसले ल्याइरहेको छ अवैध कपडा ?


सम्पादकीय
झापाको बिर्तामोडमा केहि समययता धमाधम अवैध कपडा बरामत भइरहेको छ । पहिले अवैध कपडा आएर पनि बरामत नगरिएको हो वा भर्खरै देखि यस किसिमको धन्दा शुरु भएको हो, विस्तारै खुल्ने छ । तर, पछिल्लो समय जिल्लाको मुख्य बजार बिर्तामोडमा लाखौं लाखका अवैध कपडा भित्रिनुले व्यवसायीमाथि शंका उब्जिएको छ । यहाँका व्यवसायीले कहाँबाट अवैध कपडाको आयात गरिरहेका छन् ? अवैध कपडाको आयात गर्ने गिरोहमा को–को छ ? प्रहरीले अवैध कपडा बरामत गरेपनि यसका कारोवारी बारे खुलाउन सकिरहेको छैन ।

झापाको बिर्तामोडमा दुई साताअघि राजश्व अनुसन्धान कार्यालय इटहरीले छापा हान्यो । एउटा कपडा पसलमा सिल नै गरेर फर्कियो । त्यसका विरुद्धमा यहाँका स्थानीय व्यवसायीले विरोध पनि जनाए । समन्वय नगरेको व्यापारीहरुको आरोप थियो । त्यस लगत्तै विर्ताबजारको एउटा गोदाममा पनि राजश्वले छापा हान्यो । राजश्व अनुसन्धानले नक्कली विल विजकको प्रयोग सम्बन्धमा परेको उजुरीका आधारमा छापा मारेको थियो । त्यो घटनाको अहिले पनि अनुसन्धान भइरहेको छ ।

खुला सीमाका कारण चोरी तस्करी यहाँको लागि चुनौति छ । तर, सीमादेखि २० किमिभित्र अवैध कपडा बरामत भइरहँदा सुरक्षा निकाय के गरिरहेको छ । सीमाको सुरक्षामा किन लापरबाही गरिदैछ । यसले सुरक्षा निकायमाथि पनि प्रश्न उठाएको छ । सीमाको कमजोरीकै कारण यहाँसम्म अवैध कपडाको आयात भइरहेको छ । बजारमा भारतीय विस्कुट छ्यापछ्याप्ती पाइन्छ । भर्खरै काँकडभिट्टाबाटा करिव २० लाखको विष्कुट राजश्व अनुसन्धान इटहरीलाई बुझाइएको छ । बजारमा भन्सार छलेर ल्याइने खाद्यन्न, कपडा, मोटरका पार्ट पुर्जादेखि सुर्तिजन्य वस्तुको विगविगी छ । यसले स्थानीय उत्पादन र उपभोक्ता समेत ठगिमा परेका छन् । अवैद्य सामान ओसारपसारको गिरोह पत्ता लगाएर बजारमा बढिरहेको तस्करी नियन्त्रणमा सरोकार पक्षले ध्यान दिओस् ।

शेयर गर्नुहोस :

0
Shares