सम्पादकीय
प्रहरी, सेनामा असाध्यै धेरै अनुशासन सिकाइएको हुन्छ । चेन अफ कमाण्ड भएको संगठनमा अनुशासन उल्लंघन गर्ने कुरा हुदैन । समग्रमा आचरणवान संगठन भएको बुझाई छ । खासगरी प्रहरी संगठनको आम नागरिकसँग सबैभन्दा धेरै भूमिका हुने गर्छ । र, धेरै विवादमा पनि आइरहेको हुन्छ । बिर्तामोडमा एक जना बलात्कृत बालिकालाई महिला प्रहरीले सोधपुछको क्रममा दुव्र्यवहार गरेको घटना बाहिर आयो । इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत प्रहरी हवल्दार पुजा प्रसाई सोही कारण कारवाहीमा परिसकेकी छन् ।
यो घटना एउटा प्रतिनिधि घटना मात्र हो । खासगरी जनपथ प्रहरीमा आवश्यक अनुशासन ह्रास हुदै गइरहेको पाइन्छ । नागरिकसँगको व्यवहारमा प्रहरीले बोल्ने, हिड्ने कुरामा ख्याल गर्नैपर्छ । सामाजिक रुपमा प्रहरीलाई सम्मान गरिन्छ । प्रहरी कै कारण नागरिकको सुरक्षा हुने हो । तर, पीडितलाई यसरी दुव्र्यवहार गर्ने कुरा सामान्य छैन । सोधपुछमा प्रहरीको आफ्नै विधि हुन सक्छ । बलात्कारका घटनामा विभिन्न कोणबाट सोधपुछ चै हुन सक्छन् । बलात्कार भएको हो होइन भन्ने विषय सोधपुछ कै क्रममा प्रहरीले पत्ता लगाउने हो । तर, पीडितलाई नै हतोत्साहित बनाउन चाहि हुदैन ।
बलात्कार जस्तो घटनामा प्रहरीले संवेदनशिल हुनुपर्छ । कतिपय घटना आरोप मात्र हुन पनि सक्छन् । प्रहरीले यस प्रकारका घटनामा सबै विधिबाट प्रश्न गर्न सक्छ । तर, सोधपुछको वातावरण सोही अनुसारको तयार गरिनुपर्छ । सुन्ने मान्छेलाई अस्वभाविक लाग्यो भने प्रहरीमाथि प्रश्न उठ्नु स्वभाविक हो । यसैले सबै प्रकारका घटनामा प्रहरीले संवेदनशिलतालाई ख्याल गर्नुपर्छ । पछिल्लो समय प्रहरी संगठनमा लापरबाही पनि उत्तिकै छ । यसैले प्रहरीले आचरण पनि सुधार गर्न जरुरी छ । एउटा प्रहरीको आचरणले सिङ्गो संगठन बद्नाम हुन्छ । प्रहरीमाथि नागरिकले धेरै प्रश्न उठाउने अवस्था बन्यो भने विश्वास पनि गुम्न सक्छ । यसैले सबै जिम्मेवार भएर संगठनको दायराभित्र रहेर काम गरौं ।







प्रतिक्रिया