सम्पादकीय

स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गरियोस्

स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गरियोस्


सम्पादकीय
सरकारले नीजि अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ । नयाँ आर्थिक वर्षको शुरुआतसँगै नीजिमा उपचार नहुने घोषणा गरिसकेको छ । स्वास्थ्य बीमा कार्यक्रम विपन्न परिवारका लागि बरदान भइरहेको थियो । सरकारी स्वास्थ्य संस्थाबाट रेफर लिएर नीजिमा उपचार गर्नेहरुको संख्या ठुलो छ । सरकारीमा पर्याप्त उपचार सेवा नहुँदा आम नागरिक प्राइभेटमा उपचार गर्न बाध्य थिए । बीमा बाहेकका स्वास्थ्य उपचार सेवामा अझै पनि सरकारी स्वास्थ्य संस्थामा विश्वास कम छ ।

बीमा कार्यक्रमबाट लाखौं नागरिकले सेवा पाइरहेका छन् । झापा सबैभन्दा धेरै स्वास्थ्य बीमा गर्ने जिल्लामा पर्दछ । झापाको हकमा अन्य जिल्लाभन्दा धेरैले सेवा पाइरहेका थिए । तर, अब नीजि बन्द गरेपछि उपचारको व्यवस्थापनमा कठिनाई हुने निश्चित छ । सरकारी अस्पतालहरुमा यसको उपचार पूर्ण रुपमा पाइने अवस्था छैन । सबैप्रकारका औषधि पाउन उत्तिकै जटिल छ । त्यसका लागि सरकारले आवश्यक प्रवन्ध मिलाउनुपर्छ । स्वास्थ्य बीमा कार्यक्रमलाई राम्रो उद्देश्य राखेर प्राइभेटमा बन्द गरिएको हो भने आवश्यक व्यवस्थापन मिलाउनुपर्छ ।

नीजि अस्पतालमा समेत उपचार हुँदा बीमामा सहभागिहरुले सहजै उपचार पाउने परिस्थिति थियो । सरकारीमा मात्रै हुने हो भने विरामीको भिड थामिसक्नु हुदैन । यसैले बीमा गर्नेहरुको संख्यालाई ख्याल गरेर व्यवस्थापन मिलाउन जरुरी छ । नीजि अस्पतालमा विरामीले ठगिएको पनि गुनासो गरिरहेका छन् । सामान्य उपचार सेवा लिने बिरामीको बाँकी रकम समेत कटौती भइरहेको थाहा पाएपछि पीडितहरु गुनासो गर्दे आएका थिए । नीजि अस्पतालले उपचारभन्दा दोब्बर, तेब्बर विल बनाएर सरकारबाट रकम असुली गरिरहेको बुझेरै सरकारले नीजिलाई यो कार्यक्रमबाट हटाउन सकेको हुन सक्छ । त्यसैले नीजि अस्पतालहरुले पनि आफ्नो कमजोरीलाई सच्याएर अघि बढ्न आवश्यक छ । सरकारी अस्पतालमा मात्रै बीमा कार्यक्रम सञ्चालन गर्दा विरामीले सहजै उपचार पाउन सक्दैनन् । यस तर्फ सरकारको ध्यान जाओस् ।

शेयर गर्नुहोस :

0
Shares