रोहित काफ्ले
भद्रपुर । कुशल संगठक एवम् सुशासनयुक्त सेवा प्रवाहका पक्षपाती स्व. प्रमोद तामाङको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठनले स्थापना गरेको पुरस्कारबाट एकजना पत्रकार र दुईजना राष्ट्रसेवक कर्मचारी पुरस्कृत भएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था झापाले स्व. तामाङको स्मृति दिवसको अवसर पारेर बुधबार भद्रपुर–१० स्थित संगठनको कार्यालय परिसरमा आयोजित समारोहका बीच पुरस्कार वितरण गरिएको हो ।

यस वर्षको स्व. प्रमोद तामाङ सुशासन पत्रकारिता पुरस्कारबाट झापा कमल–६ निवासी सिद्धहस्त सञ्चारकर्मी, नेपाल पत्रकार महासंघ झापाका पूर्व सह–सचिव, प्रेस चौतारी नेपालको प्रदेश नं १ समितिका महासचिव, आर्थिक पत्रकार समाज झापाका उपाध्यक्ष गोपाल झापालीलाई प्रदान गरियो भने उत्कृष्ट राष्ट्रसेवक पुरस्कार जिल्ला हुलाक कार्यालयका प्रमुख दामोदर घिमिरे र आन्तरिक राजश्व कार्यालय भद्रपुरका कार्यालय सहयोगी बोजप्रसाद दुलाललाई प्रदान गरियो ।
संगठनका अध्यक्ष केदार पोखरेलको अध्यक्षतामा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले स्वागत र संगठनका सचिव मनोज तिम्सिनाले सञ्चालन गरेको समारोहका प्रमुख अतिथि झापा क्षेत्र नं ३ का प्रदेशसभा सदस्य बसन्त बानियाँ, पेशागत महासंघ नेपालका स्थायी कमिटी सदस्य एवम् नेकपा एमाले झापा जिल्ला कमिटिी सदस्य देवराज कार्की, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य एवम् प्रदेश इञ्चार्ज लक्ष्मीप्रसाद गुरागाईंलगायतले पुरस्कृत व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
पत्रकारिता पुरस्कारको राशी ७,७७७।– रहेको छ भने उत्कृष्ट राष्ट्रसेवक पुरस्कारको राशी १०,१५१।– रहेको छ । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बानियाँले सेवाग्राही नागरिक र राष्ट्रसेवक कर्मचारीबीच सधैं साक्षात्कार भइरहने हुँदा कर्मचारीले सहज ढंगले छिटोछरितो रुपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।







प्रतिक्रिया