कांग्रेसलाई खरेल भारी –
बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरेले उम्मेद्वारीका लागि पार्टी केन्द्रको निर्णय पालना गर्नुको विकल्प नरहेको बताएका छन् । आज बिर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै घिमिरेले उम्मेद्वारीका लागि आकांक्षा स्वभाविक भएपनि पार्टीले जसलाई टिकट दिन्छ त्यो स्वीकार गर्नैपर्ने बताएका छन् ।
उम्मेद्वारी सिफारिस र निर्वाचन केन्द्रीत कामका लागि झापामा सक्रिय भएका घिमिरे प्रदेशको बैठक तर्फ जानुपूर्व जिल्लाका केहि पत्रकारहरुसँग कुराकानी गर्दै विदाई भएका छन् । आजै सम्पन्न जिल्ला कमिटीको बैठकले क्षेत्रीय कमिटीबाट आएको नाम प्रदेश कमिटीलाई पठाएको छ ।
झापा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि आकांक्षा व्यक्त गरेका घिमिरेले पार्टीको निर्णय मानेर जाने बताए । घिमिरेले भने, ‘मेरो पनि नाम सिफारिस भएको छ । पार्टीको निर्णय जे हुन्छ, मैले स्वीकार गरेर जान्छु ।’
एमालेका पुराना नेता घिमिरे अहिले पार्टीको प्रदेश इञ्जार्चको जिम्मेवारीमा छन् । पार्टीभित्र सबैका लागि पुरानै अनुसार भए पनि आम नागरिक र मतदाताका लागि नयाँ अनुहार हुन् । उनले पत्रकारहरुसित भने, ‘पब्लिकसँग मेरो कन्ट्याक्ट कमि भएकै हो । पार्टीको जिम्मेवारीका कारण म पार्टीका साथीहरुसँग मात्रै नजिक छु ।’

२०४८ सालदेखि बिर्तामोड बसेका घिमिरे लामो समय काठमाडौं बसे । फेरि पार्टी जिम्मेवारीले झापा बिर्तामोड बस्दै आएका घिमिरे यहाँका सर्वसाधारण नागरिकभन्दा टाढा छन् । उनले थपे, जिम्मेवारीका कारण सम्बन्ध, सम्पर्क कमि भएको साँचो हो ।
जिल्लाको समसायिक विषयमा कुरा राखेका नेता घिमिरेलाई पत्रकारहरुले जिज्ञासा राख्दै भने, तपाईले झापा क्षेत्र नं. २ का लागि आफ्नै पहलमा के विकास गर्नुभयो ? जवाफमा नेता घिमिरेले भने, यो भन्न मिल्दैन, पार्टी मार्फत काम गरिएको छ । मैले गरे भन्दा अन्य साथीभाईले के सोच्नुहुन्छ ? सबै काम पार्टी च्यानल मार्फत गरिएका छन् ।
पत्रकारले फेरि सोधे, यसै क्षेत्रका अर्का आकांक्षी अग्नी खरेलको पहलमा १-२ कामले राष्ट्रिय चर्चा पायो । मोहनमाया माविको जग्गा विवाद समाधान र डोमालाल राजवंशी रंगशालाको जग्गा फिर्तामा ठुलो भूमिका निर्वाह गर्नुभयो, त्यस्तै काम भनेको ।
घिमिरेले जवाफमा भने, उहाँ पनि एमालेकै नेता हो । पार्टीको जिम्मेवार नेता भएकाले उहाँले त्यो काम गर्नुभएको हो । त्यसलाई व्यक्तिगत भन्न मिल्दैन ।
दुवै जग्गाका समस्या वर्षौ पुराना मुद्दा थिए । नेता खरेलले झापा बसाई पहिले नै दुवै समस्या समाधान गरेका हुन् ।
यस क्षेत्रबाट चार जनाको नाम सिफारिस भइसकेको छ । अग्नि खरेल, देवराज घिमिरे, पवित्रा निरौला खरेल र ध्रुव कुमार शिवाकोटीको नाम जिल्लाबाट प्रदेशमा सिफारिस भइसकेको छ ।
झापा क्षेत्र नं. २ मा संघको निर्वाचन लढ्ने तयारीका साथ अग्नि खरेल जिल्ला इञ्जार्ज समेतको जिम्मेवारी लिएर आए । पार्टीले विकास योजना क्षेत्र नं. २ सहित अन्य क्षेत्रमा लैजान खरेलले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने योजनाअनुरुप नै जिल्लामा खटाइएको थियो । शुरुआतदेखि खरेल क्षेत्र नं. २ का उम्मेद्वार हुन् भन्ने पार्टीका सबै तहले चर्चा गर्देै आएका थिए । तर, निर्वाचन घोषणापछि थप तीन जनाले आकांक्षा व्यक्त गरे ।
खरेलले निर्वाचन केन्द्रीत गतिविधिलाई नै प्राथमिकतामा राखेर पार्टी काममा सक्रिय भएका थिए । उनले यस क्षेत्रको प्रतिनिधिका लागि शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक, राजनीतिक र व्यवसायीसँग आवश्यक सहकार्य बढाएका थिए । पूर्वमन्त्री एवम् महान्यायाधिवक्ता भएकाले विकास योजना ल्याउन सकिन सबै पार्टीको अपेक्षा बुझिएको छ ।
आकांक्षा व्यक्त धेरै जनाको भयो नि भन्ने जिज्ञासामा उनले भने, आकांक्षी सबै सिफारिस गर्ने भन्ने नै थियो । टिकट पाउने त एकैजनाले मात्रै हो । क्षेत्रीय कमिटीले ‘हेवीवेट’ नेता अग्नि खरेलसहित चार सिफारिस गरिसकेको छ । खरेललाई चुनाव हराउन मुस्किल पर्ने कांग्रेसवृत्तमा चर्चा भइरहेको बेला उनको विकल्प कांग्रेसले खोजिरहेको बुझिएको छ ।
प्रदेश इञ्चार्ज घिमिरेले पत्रकार सम्मेलनमा राप्रपासँगको तालमेलका बारे आवश्यक छलफल अघि बढेको बताए । आवश्यकताका आधारमा तालमेल हुन सक्छ, अहिले नै कति सिट भन्ने स्पष्ट छैन ।







प्रतिक्रिया