प्रदीप परियार
बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले मिटरव्याजीबाट पीडित नागरिकको उजुरीको आधारमा छलफल थालेको छ । पीडक र पीडितबिच अनौपचारिक रुपमा गरिएको आर्थिक कारोवारका बारेमा दुई पक्षलाई राखेर छलफल गर्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । हालसम्म तीन वटा उजुरीमा छलफल गरिएको छ ।
दुई वटा छलफल जारी छन् भने एउटा अर्को उजुरीकर्ता र पीडक भनिएका व्यक्तिलाई कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरीमा पठाइएको छ ।
गृह मन्त्रालयले जिल्ला प्रशासन मार्फत मिटरव्याजीबाट पीडित नागरिकलाई उजुरी दिन सार्वजनिक आव्हान गरेपछि झापामा २८ वटा उजुरी परेको छ । शुक्रवारसँम्म इलाका प्रशासन दमकमा ७ वटासहित जिल्ला प्रशासन भद्रपुरमा जम्मा २८ वटा उजुरी दर्ता भएको नासु सिर्जना लुइटेलले जानकारी दिइन् । उनका अनुसार सबैभन्दा धेरै उजुरी बिर्तामोडबाट परेको छ । बिर्तामोडबाट मात्रै ११ वटा उजुरी परेका छन्, लुईटेलले भनिन् ।
जिल्ला प्रशासनमा आएका उजुरीमा वर्षौ पुराना कारोवार भएको उल्लेख छ । आफन्त र नजिकका साथीभाईसँग गरिएका कारोवार नै पछि गएर चर्को व्याज (मिटरव्याज) जोडेको पीडितहरुको उजुरीमा खुलाइएको छ ।
शिवसताक्षीका एक जना उजुरीकर्ताले ८३ लाख लिएर ९ वटा जग्गाको राजीनामा पास गरिदिए । उजुरीमा खुलाइए अनुसार उनले ५० लाख तिरिसकेका छन् । चलनचल्तीमा जग्गाको मुल्य करिव १५ करोड छ । ८३ लाख दिनेले हाल ४ करोड ९९ लाख ४३ हजार ५ रुपैयाँ पाउनुपर्ने माग राखेको पीडितको उजुरीमा उल्लेख छ ।
यस्तै, दमकका एक जना उजुरीकर्ताले जग्गा राजीनामा पास गरेर ४५ लाख लिए । ४५ लाख चुक्ता गरिसक्दा पनि जग्गा फिर्ता नगरेको पीडितको भनाई छ । उनले रकम बुझाईसकेका कारण जग्गा फिर्ता गराइदिन माग गरेका छन् ।
बिर्तामोडका एक जना उजुरी कर्ताले २५ लाख लिएर ७६ लाख बुझाइसकेको उल्लेख गर्दै प्रशासनमा उजुरी दिएका छन् । पीडितले पैसा लिने बेला हस्ताक्षर गरेर खाली चेक दिएका थिए । उजुरीमा उल्लेख भए अनुसार पीडितलाई अहिले माटो रकम चेकमा भरेर बाउन्स गरिदिने धम्की आएको छ । उनले आफुले रकम बुझाइसक्दा पनि आफ्नो चेक फिर्ता नगरी उल्टै बाउन्सको धम्की आइरहेको उजुरीमा खुलाएका छन् ।
अर्का एक उजुरीकर्ताले जग्गा राजीनामा पास गरेर ८० हजार रुपैयाँ लिएको र त्यस वापत पटक–पटक गरेर १ लाख १० हजार बुझाइसक्दा पनि जग्गा फिर्ता नआएको बताएका छन् । उनले आफ्नो जग्गा फिर्ता गराइदिन माग गरेका छन् ।
धेरैजसो कारोवार खाली चेकका कारण विग्रिएका छन्, नासु लुइटेलले भनिन्– कारोवार गरेपछि खाली चेकमा हस्ताक्षर गरेर दिनेहरु पीडित भएका छन् । शुरुमा खाली चेक दिने, पछि पैसा तिरिसक्दा पनि चेक फिर्ता गर्नुको सट्टा रकम भरेर बाउन्स गरिदिने जस्ता घटना लिएर पीडितहरु प्रशासन पुगेका छन् ।
कच्चा कागज र विश्वासको भरमा गरिएका व्यवहारहरु विग्रिएको प्रशासकीय अधिकृत सुरेन्द्र भट्टराई बताउछन् । उनका अनुसार व्यवहार गर्दा पक्का गर्नुपर्छ । उनले जिल्ला प्रशासनमा न्यूनतम ८० हजार देखि ८३ लाखसम्मको कारोवारको उजुरी परेको जानकारी दिए ।
भट्टराईका अनुसार उजुरीकर्ता र पीडकबिच छलफल गर्दै आवश्यक प्रमाण खोजिने जानकारी दिए । दुई पक्षबिच छलफलबाट मेलमिलाप गर्न नसके कानुनी प्रक्रिया अघि बढाइनेछ । अदालतमा मुद्धा परिसकेका घटनाका बारेमा छलफल हुने छैनन्, उनले थपे ।







प्रतिक्रिया