बिर्तामोड । झापाको बिर्तामोडमा अधिकांश माछामासु पसलमा सरसफाई नभएको पाइएको छ । मंगलवार भएको बजार अनुगमनका क्रममा यस्तो देखिएको अनुगमन टोलीले जनाएको छ ।
बडादशैं तिहार लगायतका ठूला चाडपर्व नजिकिएसंगै बिर्तामोड बजारमा गरिएको अनुगमनलाईका क्रममा सरसफाईमा ख्याल नगरेको बताइएको छ । व्यवसायीहरुले दैनिक उपभोग्य वस्तुको रुपमा रहेको माछामासु विक्री गर्दा स्वच्छ र सफा राख्नुपर्ने सूझाव समेत दिइएको छ ।

बजारमा म्याद गुज्रिएका, खान अयोग्य सामानहरू र अस्वस्थ माछा मासु विक्री वितरण हुनसक्ने अवस्थालाई ध्यान दिंदै मंगलबार बजार अनुगमन गरिएको थियो ।
बिर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, आन्तरिक राजश्व कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,ईलाका प्रहरी कार्यालय अनारमनी लगायत विभिन्न सरोकारवाला संघ संस्थाहरुले संयुक्तरुपमा बजार अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा बिर्ताबजारमा रहेको ओम मिष्ठान्न भन्डारमा म्याद गुज्रिएको ११ बट्टा रसगुल्ला फेला परेको थियो । अनुगमन टोलीले वडा नम्बर– ३ बिर्ताबजारमै रहेको सुरमनी राजवंशीको मासु पसल र वडा नम्बर ५ को कृषिथोक बजारमा रहेको सिता माछा पसलबाट विषादी टेष्टको लागि माछा उठाएको छ । अनुगमनका क्रममा अधिकांस मासु पसल फोहोर रहेको, खुल्ला र झिंगा भन्किरहेको अवस्थामा विक्री वितरण गरिरहेको, भारतबाट आयात गरिएका मरेका माछा विक्री गरिरहेको फेला परेको थियो । उनीहरुलाई मापदण्ड अनुसार पसललाई व्यवस्थित गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपानेले जानकारी दिए ।
यस्तै बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले चाडपर्वको अवसरसँगै अन्य समयमा पनि मासिक, त्रैमासिक रुपमा बजारमा छड्के अनुगमन गरिने बताएका छन् ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपाने, बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत प्रेम प्रसाद सापकोटा, नापतौल तथा गुणस्तर कार्यालयका प्रमुख मुकुन्द चौहान, आन्तरिक राजश्व कार्यालयका नायव सुव्वा विशाल काफ्ले, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका पंकज दाहाल, बिर्तामोड उद्योग वाणिज्य संघका प्रतिनिधि , उपभोक्ता हित संरक्षण मन्चका केन्द्रीय सदस्य याम विमली , विश्व उपभोक्ता महासंघ झापाकी अध्यक्ष सरस्वती चम्लागाई, राष्ट्रिय उपभोक्ता मञ्चका मदनगोपाल सुव्वालगायतको सहभागिता रहेको थियो ।







प्रतिक्रिया