फोहोर व्यवस्थापन अवरोधमा गठबन्धन
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा फोहोरमाथि चरम राजनीति शुरु भएको छ । पूर्वाग्रहपूर्ण राजनीतिका कारण फोहोर व्यवस्थापनमा कठिनाई भएको हो ।
झापाका केहि स्थानीय तहले कनकाई–बिर्ता–अर्जुन नविकरणीय उर्जा परियोजना मार्फत फोहोर व्यवस्थापन गर्ने आवश्यक तयारी गरिरहेका छन् । सोही क्रममा कांग्रेस नेतृत्वको गठबन्धनले देखिने गरी अवरोध शुरु गरेको छ । बिर्तामोडमा रहेका स्थानीय राजनीतिक दलहरुले आवश्यक सहयोग गर्नुको सट्टा परियोजना बारे भ्रम छर्न थालेका छन् ।
भ्रम छरेर फोहोर व्यवस्थापनमा अवरोध गर्न कांग्रेस, माओवादी, राप्रपा, नेकपा समाजवादी र जनता समाजवादी खुलेर लागेका छन् । गठबन्धनमा रहेका दलहरुले बिर्तामोड नगरपालिकाको लगानी बारे आम नागरिकमा अस्पष्ट हुने गरी विज्ञप्ति नै सार्वजनिक गरे ।
विज्ञप्तिमा नेपाली कांग्रेस विर्तामोड नगर समितिका सभापति भोजराज सिटौला, नेकपा माओवादी केन्द्रका विर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्बा, राप्रपा विर्तामोड नगर समितिका अध्यक्ष रञ्जु प्याकुरेल, नेकपा एकीकृत समाजवादी विर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौला र जनता समाजवादी पार्टी विर्तामोड नगर समिति अध्यक्ष तिलबहादुर राईले हस्ताक्षर गरेका छन् ।
२०७५ सालदेखि निर्माण शुरु भएको परियोजनाको लागत २२ करोड ३९ लाख बढि छ । १३ करोड खर्च भइसकेको परियोजनामा बैंकले समेत कर्जा लगानी गरेको छ । परियोजनामा सरकारी लगानी ४ करोड नजिक पुगेको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले हालसम्म २ करोड ७७ लाख लगानी गरिसकेको जनाएको छ । उर्जा प्रवद्र्धन केन्द्रले ५ करोड ४६ लाखभन्दा माथि लगानी गर्ने सम्झौता भइसकेको छ । नेपालमै उत्कृष्ट विधिबाट फोहोरमैला व्यवस्थापनको तयारी भएपछि स्थानीय तहले समेत सहकार्य गर्ने तयारी गरेका हुन् । उर्जा प्लान्टमा फोहोरमैला व्यवस्थापन हुने भएपछि गठबन्धन बिर्तामोड नगरको लगानीमाथि गलत व्याख्या गर्न थालेको छ ।
कनकाई नगरपालिकाले ६१ लाख लगानी गरिसकेको छ । यस्तै, अर्जुनधारा नगरपालिकाले पनि ३० लाख लगानी गरेको छ । २ करोड ५४ लाखका दरले स्थानीय तहहरुले लगानी गर्न प्रतिवद्धता समेत जनाइसकेका छन् । उर्जा परियोजनामा बुद्धशान्ति, मेचीनगर, भद्रपुर र शिवसताक्षी समेत लगानी गरेर फोहोरमैला व्यवस्थापनमा लाग्ने तयारी गरिरहेका छन् । स्थानीय तहहरु आवश्यक लगानी गरेर फोहोरमैलाको दीर्घकालिन व्यवस्थापनमा जुटेका हुन् । कनकाई उर्जा परियोजनाबाट ग्यास र मल उत्पादन हुनेछ । स्रोत मै फोहोर छुट्टाएर सो प्लान्ट मार्फत उर्जा उत्पादन गरिने कम्पनीका अध्यक्ष मिनाल तिमिल्सिनाले जानकारी दिए । उनले निजी क्षेत्र र सरकार बिच हुने साझेदारी कुनै नयाँ विषय नभएको स्पष्ट पारे । तिमिल्सिना भन्छन्, दुवै पक्षको सहकार्यबाट मात्रै कुनै पनि क्षेत्रमा सफलता हात पार्न सकिन्छ ।
यता, बिर्तामोडको कांग्रेस नेतृत्वको गठबन्धनले बैंकको कर्जा तिर्न बिर्तामोडले लगानी गर्न खोजेको आरोप लगाएको छन् । परियोजनाका जानकार भन्छन्, ‘फोहोर व्यवस्थापनका लागि बिर्तामोडले निजी क्षेत्रसँग सहकार्य गर्न लागेको हो । सो परियोजनामा बिर्तामोडको मात्र होइन, अन्य सरकारी लगानी समेत थपिदै जानेछ । परियोजनामा गरिने लगानी उपकरण खरिद गर्ने, कर्जा तिर्ने भन्ने हुदैन । परियोजना सञ्चालनका लागि लगानीको सदुपयोग जसरी पनि हुन सक्छ ।’
सो परियोजनामा सर्वसाधारण नागरिक समेतको लगानी रहेको छ । ठुलो प्रोजेक्ट भएकाले एउटा व्यक्तिले सञ्चालन गर्नै सक्दैन, कर्जा चाहिन्छ । लगानीकर्ताबाट आएको रकम परियोजना सञ्चालनका लागि जहाँ पनि खर्च हुन सक्छ, अर्का जानकारले थपे ।







प्रतिक्रिया