सम्पादकीय
आम उपभोक्ताले स्वच्छ, स्वस्थ्य र उचित मुल्यमा उपभोग्य सामग्री खरिद गर्न पाउनुपर्छ । सर्वमान्य सिद्धान्त नै हो, स्वच्छ र उचित मुल्यको सवाल । तर, अधिकांश व्यवसायीबाट उपभोक्ता ठगिएका छन् । स्वच्छ र स्वस्थ्य उपभोग्य सामान प्राप्त गर्न कठिनाई छ । व्यवसायीलाई आम उपभोक्ताको स्वास्थ्यभन्दा व्यापारसँग मात्रै सरोकार छ । त्यसको उदाहरण मंगलवार बिर्तामोड मै देखियो । बिर्तामोड नगर क्षेत्रका एक दर्जनभन्दा बढि व्यवसायीले सञ्चालन गरेका व्यवसायको अनुगमनमा दयनीय अवस्था देखिएको छ ।
झापाको बिर्तामोडमा उपभोक्ताहरु आफ्नो बाध्यताका कारण जस्तोसुकै खाद्य वस्तुको प्रयोग गरिरहेको स्पष्ट छ । मिठाइ पसलहरुमा मिठाई छोपेर राखिएको छैन । झिगा, धुलोबाट नजोगाई राखिएको मिठाईले उपभोक्ता मारमा परेका छन् । कतिपय मिठाई पसलमा म्याद गुज्रिएका मिठाई पनि राखिएको पाइयो । किराना पसलहरुमा आफु खुशी प्याकेजिङ गरेको पाइयो । प्याकेजिङ गरिएका सामानमा कुनै उत्पादन मिति छैन । अन्तिम म्याद पनि उल्लेख गरिएको पाइएन । त्यस खाद्य वस्तुको गुणस्तर पनि उल्लेख गरिएको पाइएन । उपभोक्तालाई गुम्राहामा पारेर व्यवसायी सामग्री विक्रि वितरण गरिरहेका छन् ।
माछा मासु पसलको फोहोर देख्दा खाइसक्नु छैन । झिगाले माछा मासुमा अड्डा नै जमाएर बस्न पाएको छ । माछामासुलाई सुरक्षित रुपमा राखेर विक्रि गर्नुपर्ने हो । न्यूनतम सरसफाई समेत पालना नगरेको अनुगमन टोलीले भेट्टाएको छ । व्यवसायीहरुले सरसफाई राखेमा आम उपभोक्ताको स्वास्थ्य सुरक्षित हुने थियो । यसैले व्यवसायीले पनि व्यापार मात्र हेर्न हुदैन । व्यवसायसँगै उपभोक्ताको स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ । उपभोक्तालाई घुमाइफिराई ठगि गरेर लुट मच्चाउन पाइदैन । बिर्तामोड वाणिज्य संघले त्यस प्रकारका व्यापारीको संरक्षण नगरोस् । जिम्मेवार व्यवसायी बनाउन भूमिका निर्वाह गरोस् । र, अनुगमनलाई नियमित पनि गरियोस् ।







प्रतिक्रिया