Banner news

पाथीभरा इन्जिनियरिङ कलेजले गुणस्तरलाई प्राथमिकता दिने

पाथीभरा इन्जिनियरिङ कलेजले गुणस्तरलाई प्राथमिकता दिने


बिर्तामोड । संरचना निर्माण भएको १२ वर्षपछि सम्बन्धन प्राप्त गरेको पाथीभरा इन्जिनियरिङ कलेजले गुणस्तरीय शिक्षालाई प्राथमिकता दिने जनाएको छ । सोमवार कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै कलेजले सम्बन्धन पाएको बताउँदै गुणस्तरीय शिक्षा नै पहिलो प्राथमिकतामा हुने अध्यक्ष एवम् व्यवस्थापक युवराज प्रसाईले जानकारी दिए ।

अर्जुनधारा –११ नयाँ बसपार्क बिर्तामोडमा रहेको कलेजले यसै साता मात्र पूर्वाञ्चल विश्वविधालयबाट सम्बन्धन प्राप्त गरेको हो । आठ वर्षअघि इन्जिनियरिङ काउन्सिलबाट सञ्चालन अनुमति पाएको कलेजले दशैं लगत्तै भर्ना खुला गर्ने जनाएको छ ।

सिभिल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ अध्ययनका लागि अब पूर्व क्षेत्रका विधार्थी देश बाहिर जानुपर्ने बाध्यता हटेको छ । प्रसाईका अनुसार पाथीभरामा काठमाडौंका कलेजभन्दा सहुलियतमा विधार्थीले अध्ययन गर्न पाउने छन् ।

कक्षा सञ्चालनका लागि दुई वटा भवन र ४० वटा कक्षा कोठा तयार रहेको कलेजका कार्यकारी निर्देशक अनुज पराजुलीले जानकारी दिए । इन्जिनियरिङ कलेजका लागि आवश्यक सम्पूर्ण उपकरण र सामग्री साथै अनुभवी प्राध्यापक भएकाले आगामी मंसिरदेखि कक्षा शुरु हुने जानकारी दिए ।

कलेजले समयमा सम्बन्धन नपाएका कारण आर्थिक रुपमा ठुलो क्षति व्यहोर्नु परेको सञ्चालहरुको भनाई छ । १२ वर्षमा पानी , विजुली, हेरालु र गार्डलाई मात्र ७० लाखभन्दा बढि खर्च भइसकेको बताईको छ ।

शेयर गर्नुहोस :

0
Shares