सम्पादकीय
झापाको कचनकवलमा तीन किशोरी एउटै रुखमा मृत अवस्थामा फेला परे । हेर्दा, आत्महत्या गरेको जस्तो देखिन्थ्यो । प्रहरीले त्यस घटनाका बारेमा के भएको हो सार्वजनिक गरेको छैन । सबैले आत्महत्या नै अनुमान गरेका छन् । स्थानीय चिया बगानमा मजदुरी गर्ने किशोरीहरुको आत्महत्याको घटना दर्दनाक थियो । चरम गरिवी, अशिक्षा र चेतनाको कमीले यस प्रकारका घटना भइरहेका छन् । आत्महत्याका घटना अहिले बढिरहेको छ । यसको नियन्त्रणका लागि धेरै ढिला भइसक्यो ।
आत्महत्याका घटना बढ्दै गएपछि विशेषगरी प्रहरीले सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । भर्खरै झापा प्रहरीले दमकमा आत्महत्या न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । आत्महत्याको घटनालाई सामान्य रुपमा हेर्न हुदैन । सानो समन्वयका कारण यस प्रकारका घटनामा न्यूनिकरण हुनेछ । त्यसका लागि योजना निर्माण गर्न अपरिहार्य छ । सुरक्षा निकायसँगैै मुख्य दायित्व स्थानीय तहको हो । स्थानीय तह बढि जिम्मेवार हुन आवश्यक छ ।
झापामा आर्थिक वर्ष ०७६-७७ मा २२३ जनाले आत्महत्या गरे । आर्थिक वर्ष ०७७-७८ मा ३३४ र आर्थिक वर्ष ०७८÷७९ मा ३११ जनाले आत्महत्या गरेको तथ्याङक छ । चालू आर्थिक वर्षको एक महिनामा मात्र २९ जनाले आत्महत्या गरिसकेका छन् । उमेर समूहका आधारमा सबैभन्दा धेरै १६ देखि ६० वर्ष उमेरका व्यक्तिले आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ । मेचीनगर नगरपालिकामा आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै छ । यसैले आत्महत्या न्यूनिकरणका लागि सबै क्षेत्र जिम्मेवार भई योजना निर्माण गरेर लागिपर्न आवश्यक छ ।







प्रतिक्रिया