बिर्तामोड । झापाका बजारहरुमा बडादशैंको चहलपहल उत्साहजन नभएको व्यापारीहरुले प्रतिक्रिया दिएका छन् । विगतमा जस्तो बजारमा उत्साहजनक चहलपहल नभएको उनीहरुको भनाई छ ।
बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले विस्तारै चहलपहल बढिरहेको प्रतिक्रिया दिए । उनले विगतमा जस्तो चहलपहल नभएको बताएका हुन् । अघिल्लो दशंैमाभन्दा चहलपहल घटेको छ , मैनालीले भने – ‘आम्दानी घट्दै जानु र महंगी बढ्दै जानुले बजारमा प्रभाव पारेको छ । अस्वभाविक मुल्यवृद्धि पनि चहलपहल नबढ्नुको कारण जस्तो लाग्छ ।’
महासचिव मैनालीले कालोबजारी नियन्त्रण गरेर उपभोक्तालाई ठगीबाट बचाउन आग्रह गरेका छन् । कहिकतै कालोबजारी भएमा सबै व्यापारी मुछिने गरेको छ, उनले भने – एउटा उपभोक्ता ठगिए भने बजारमा त्यसको नराम्रो प्रभाव पर्छ । बजारमा चहलपहल बढाउन आम व्यवसायीको भूमिका हुन्छ ।

यस्तै, मेची उधोग वाणिज्य संघका महासचिव ध्रुव कनालले नेपाली व्यवसायी मारमा परेको बताएका छन् । उनका अनुसार भारतीय बजारमा खुट्टा टेक्ने ठाउँ छैन, नेपालमा सुनसान छ । खाद्यन्न र लत्ता कपडा थोरै सस्तो भएका कारण नेपालीहरु किनमेलका लागि भारतीय बजार जाने गरेको उनको भनाई छ । ‘यहाँ कर तिरेर ल्याएको सामान स्वभाविक रुपमा भारतको भन्दा महंगो हुन्छ’, कनालले भने – स्वदेशकै बजार प्रवद्र्धन गर्नुपर्नेमा उपभोक्ताको भीड भारततिर लाग्ने गरेको छ ।
अधिकांश नेपाली उपभोक्ता सुलभ मुल्यका कारण भारतीय बजार जाने गरेका छन् । नेपाली बजारमा व्यापारीको मनपरी मुल्यका कारण उपभोक्ता ठगिने पीरले भारततीर सस्तो खोज्दै जाने गरेको पाइएको छ ।
भारतीय बजार सिलगुडी, पानीट्याङकी, नक्सल, गलगलिया, दिगलबैंकमा किनमेलका लागि नेपालीहरु जाने गरेका छन् । नेपाली बजारमा व्यापारीले मुल्यसुची समेत राख्न अटेरी गरेका छन् । एकाध बाहेक व्यापारीले मुल्यसुची राखेको पाइदैन ।







प्रतिक्रिया