बिर्तामोड

डेंगुबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो

डेंगुबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो


बिर्तामोड । नेपालमा डेंगु संक्रमणबाट मुत्यु हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको हो ।

यो संख्या नेपालमा डेंगु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो । यसअघि २०७६ सालमा लगभग १८ हजार संक्रमित देखिँदा ६ जनाको मृत्यु भएको थियो । इडिसिडीका अनुसार संक्रमितको संख्या पनि २५ हजारभन्दा बढी पुगेको छ । हालसम्म संक्रमितको संख्या २५ हजार ५४३ जना पुगेको छ ।

बागमती प्रदेशमा मात्रै १९ हजार ९१० जना डेंगु संक्रमित भेटिएका छन् । यस्तै लुम्बिनी प्रदेशमा २ हजार ८८७ जना, गण्डकी प्रदेशमा ५५६ जना, मधेश प्रदेशमा ३८० जना संक्रमित भेटिएका छन् भने कर्णाली प्रदेशमा २३१ र सुदूरपश्चिम प्रदेशमा ८०४ जना संक्रमित भेटिएको इडिसिडीले जनाएको छ ।

यस्तै काठमाडौं उपत्यकामा पनि डेंगु संक्रमण तिब्र फैलिरहेको छ । सुरुवाती समयमा ललितपुरमा संक्रमण धेरै भएपनि पछिल्लो दिनहरुमा ललितपुरमा भन्दा काठमाडौंमा डेंगु संक्रमित धेरै रहेको इडिसिडीको विवरणले देखाएको छ ।

विवरण अनुसार हाल काठमाडौंमा ८ हजार ८९६ जना संक्रमित छन् भने ललितपुरमा ६ हजार ३५ जना संक्रमित रहेका छन् । भक्तपुरमा पनि डेंगु संक्रमण बढ्दै गएको छ। हाल भक्तपुरमा १ हजार ५८ जना संक्रमित रहेका छन् ।
यस्तै मकवानपुरमा २ हजार २७५ जना, दाङमा १२७८ जना, रुपन्देहीमा ७२५ जना, चितवनमा ६०१ धादिङमा ४ सय ४९ गुल्मीमा २९९ र कैलालीमा २९८ जना डेंगु संक्रमित रहेका छन् ।

शेयर गर्नुहोस :

0
Shares