Uncategorized

गठबन्धनले लालपुर्जा दिन रोक्यो, मंसिर ४ पछि एमालेले दिन्छ : कोइराला

गठबन्धनले लालपुर्जा दिन रोक्यो, मंसिर ४ पछि एमालेले दिन्छ : कोइराला


मेचीनगर । मेचीनगर–८ स्थित समावेशी सुकुम्बासी टोलका भूमिहीन जनताले उम्मेदवारलाई अहिलेसम्म लालपूर्जा नपाएकोमा गुनासो पोखेका थिए ।

सोमबार नेकपा एमाले र राप्रपा मेचीनगर- ८ ले आयोजना गरेको संयुक्त चुनावी घरदैलो कार्यक्रममा हिडेका उम्मेदवारहरुलाई समावेशी सुकुम्बासी टोलका जनताले लालपूर्जा नपाएकोमा गुनासो पोखेका हुन् ।

झापा – १ का प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार रविन कोइराला र राप्रपाको समानुपातिक उम्मेदवार सुनिता शर्मालाई भूमिहीन जनताले लालपूर्जा कहिलेसम्म पाइन्छ भनेर प्रश्न गरेका थिए ।
सो टोलका ३० घरका भूमिहीन परिवार वर्षौँदेखि धनिपूर्जा बिना सुकुम्बासीको जीवन बिताइरहेका छन् ।

‘जिल्लाको सुकुम्बासी आयोग मार्फत विगतमा फारम भर्ने काम गर्यो’ सोही टोलका भूमिहीन टंकनाथ अधिकारीले भने–‘तर अहिलेसम्म लालपूर्जा हातमा परेको छैन ।’

एमालेका केन्द्रीय सदस्य एवम् झापाका सहइन्चार्ज समेत रहेका कोइरालाले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले सुकुम्बासी आयोग गठन गरेर भूमिहीन जनतालाई लालपूर्जा दिने प्रकिया थालेको बताए । पछि गठबन्धनको सरकारले त्यो आयोग खारेज गर्यो । राजनीतिक फण्डा गरेर लालपूर्जा दिने भनेर सुकुम्बासीलाई वर्तमान सरकारले झुक्काएको उनको भनाई छ ।

उनले अब चुनावपछि बन्ने एमालेको बहुमतको सरकारले भूमिहीन जनतालाई लालपूर्जा दिने ठोकुवा गरेका छन् ।

त्यसो त यहाँका स्थानीयबासीहरुले विजुलीको भोल्टेज कम हुने समस्या, झापा मार्ग, सिञ्चाई, हात्ती, साना तथा ठुला ग्राभेल सडक, नहर, कल्भर्ट, सुकुम्बासी, सामुदायिक तथा अन्य भवन लगायतका समस्याहरुका विषयमा उम्मेदवारलाई कुरा राखेका थिए ।

मेचीनगर–८ को मेचे ग्रामथान टोल, शान्ति टोल, मुनवारी टोल, सरस्वती क र ख टोल, दुर्गेश्वारी, सगरमाथा, प्रगति टोल, चौधरीवाडी, मकर चोक, टोकला चिया बगानका विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

घरदैलो कार्यक्रममा एमालेका नेताहरु राजु कार्की, देवकुमार राई, शुसिल आचार्य, सन्तोष आचार्य, गणेशकुमार खरेल, रघु धिमाल, गणेश कार्की, मिलन विश्वकर्मा, केदार गिरी, लालबहादुर थामी, सुवास मिजार, ताकेन्द्र तामाङ, तिलक दर्जी, गोविन्द गिरी, गोमा खड्का, सीता राई, लक्ष्मी मेचे, बिक्रम गिरी तथा राप्रपाका गोविन्द ओली लगायतको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares