कनकाई । झापा जिल्ला अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत सोमवार सम्पन्न सेमिफाइनल चरणका दुवै खेलमा जित हासिल गर्दै कनकाई र शिवसताक्षी नगरपालिका फाइनलमा प्रवेश गरेका छन् ।
कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा शिवसताक्षी नगरपालिकाले गौरीगञ्ज गाउँपालिकालाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । खेलको सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको शिवसताक्षीले प्रतिस्पर्धी टोलीमाथि दबाब कायम राख्दै शानदार जित दर्ता गरेको हो । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका याम कुरुङ्बाङ लिम्बू म्यान अफ द म्याच घोषित भएका छन् ।

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा आयोजक कनकाई नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको सुरुवातदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको कनकाईले उत्कृष्ट टिम समन्वय, पासिङ र आक्रमणमार्फत विपक्षी टोलीमाथि दबाब सिर्जना गरेको थियो । खेलभर प्रभावशाली प्रदर्शन गरेका कनकाईका लक्ष्मण भुजेल म्यान अफ द म्याच घोषित भएका छन् ।

सेमिफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको उपाधिका लागि आयोजक कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै टोली उत्कृष्ट लयमा रहेकाले उपाधि भिडन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको फाइनल खेल आगामी भोली कात्तिक १८ गते कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने आयोजक कनकाई नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहका कर्मचारी टोलीको सहभागिता रहेको थियो ।








प्रतिक्रिया