सम्पादकीय
अहिले प्रहरी कार्यालयहरुमा चेक बाउन्सको उजुरी दर बढेर गएको छ । कारोवारका क्रममा चेक नसाटिए पछि बाउन्सको उजुरी लिएर प्रहरी कार्यालय जानेहरु बढेका छन् । आर्थिक व्यवहारमा समस्या भएपछि कतिपयले चेक दिएर अल्झाउन खोज्छन् । तर, त्यसरी अल्झाउन चहानेहरुलाई कानुनी कारवाहीको व्यवस्था छ । कतिपयले व्यवहार मिलाउन चाहदा पनि नसकेपछि चेकको कारोवार गर्ने र मुद्दा पर्ने गरेको घटनाहरु सार्वजनिक भइरहेका छन् । यस प्रकारका मुद्धामा प्रहरीले दुवै पक्षसँग हिसाव मिलानका लागि आवश्यक समन्वय पनि गरेको पाइन्छ ।
आर्थिक मन्दीपछि चेक बाउन्सको मुद्धा दर बढेको छ । जिल्ला प्रहरी कार्यालय झापामा चालु आर्थिक वर्षको ६ महिनामा १२५ वटा चेक बाउन्सका मुद्धा दर्ता भएका छन् । उजुरी लिएर आएपछि चेक दिने पक्षलाई बोलाएर पनि प्रहरीले व्यवहारबारे सोधखोज गरेर मिल्न समन्वय गर्छ । पटक–पटक सम्पर्क समन्वय गर्दा पनि चेक दिने व्यक्ति सम्पर्कमा नआउने, भागिरहने जस्ता व्यवहारका कारण प्रहरीले मुद्धा दर्ता प्रक्रिया अघि बढाउछ । मुद्धा दर्तापछि पनि प्रहरीले व्यवहार मिलाउन दुवै पक्षसँग समन्वय गरिदिन्छ । तर, हदैसम्म जालझेल गर्नेहरुबाट व्यवहार मिलिरहेको पाइदैन ।
व्यवसायिक साझेदारी, जग्गा कारोवारी, लेनदेनका अधिकांश व्यवहारहरुमा चेक बाउन्सको समस्या देखिन्छ । यसैले कारोवार गर्दा होसियारी अपनाउनुपुर्छ । क्षणिक लोभका कारण धेरैले यस प्रकारको झण्झट व्यहोर्नु परेको छ । समयमै सचेत भएर व्यवहार गर्ने हो भने व्यवहारिक कठिनाई हुदैन । अहिले व्याजको लोभमा अनौपचारिक कारोवार गर्नेहरुले असाध्यै दुख पाइरहेको अवस्था छ । जसले बैंक मार्फत वा औपचारिक कारोवार गरेको छ, ति व्यक्तिहरुले दुख पाए पनि आफ्नो लगानी बचाउन सकिरहेका छन् । जसले अनौपचारिक लगानी गर्छ, उनीहरुले आफ्ना साँवा समेत गुमाउनु पर्ने स्थिति छ । त्यसैले आर्थिक कारोवारमा औपचारिक माध्यमको प्रयोग गरौं । चेक बाउन्सको उजुरी लिएर प्रहरीसम्म जानुपर्ने बाध्यता निर्माण नगरौं । दिने र लिने दुवैले सास्ती नव्यहोर्ने गरी काम गरौं ।







प्रतिक्रिया