सम्पादकीय

उजाडियो चिया बगान

उजाडियो चिया बगान


सम्पादकीय
हरेक सरकारले कृषि क्षेत्रको निमित्त ठुलो स्वरमा आवाज उठाउदै आइरहेको छ । तर, किसानका निमित्त ति ठुला स्वरहरुको कुनै प्रभाव परेको छैन । वास्तवमा कृषि क्षेत्रका समस्याहरुलाई मसिनो गरी हेर्ने हो भने हदै दुख छ । तर, दुख अनुसारको प्रतिफल छैन । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ का एक दर्जन चिया बगान क्षेत्र अहिले हरियालीबाट उजाड बनेको छ । अर्थात, एक दर्जन चिया बगान किसानले फाँडेका छन् । एक सय विगाभन्दा धेरै क्षेत्रफलमा लगाइएको चिया फडानीले कृषिमा उत्साह छैन भन्ने स्पष्ट हुन्छ ।

देशभर अहिले जग्गा वर्गीकरणको काम भइरहेको छ । स्थानीय तहले वर्गीकरणका लागि आवश्यक काम अघि बढाइरहेको छ । यसै बेला चिया बगान फडानी हुनुले किसानहरु आफ्नो जमिनलाई कृषिबाट आवासीय वा व्यावसायिक बनाउन चाहिरहेको भन्ने देखिन्छ । कृषिमा वर्गीकरण हुँदा जमिनको मुल्य नहुने बुझेर चिया बगानका मासिकहरुले विवेक प्रयोग गरेका हुन सक्छन् । जग्गा प्लटिङ गरेर विक्रि गर्ने वा जग्गा भाडामा लगाएर राम्रो आम्दानी लिने अवस्थामा पुगेका छन् । कतिपयले चिया बगान भएको सबै जमिनमा तरकारी र फलफुल लगाउने योजना बनाइरहेका छन् ।

झापामा चिया बगान फाँडिनु भनेको राम्रो विषय होइन । चियाका कारण झापाको नाम स्थापित छ । तर, किसानले यसबाट लगानी अनुसारको प्रतिफल पाउन नसकेको साँचो हो । चिया खेतीका लागि हरेक वर्ष मलको अभाव छ । बजारमा मुल्य छैन । श्रमिकको उस्तै अभाव छ । विषादीले वरपर हैरानी बनाएको छ । ०५१ सालमा १६ रुपैयाँ प्रति केजी हरियो चिया बेचेका किसान अहिले १८ रुपैयाँ प्रति केजी विक्री गरिरहेका छन् । ७५ रुपैयाँमा श्रमिक पाइन्थ्यो, अहिले करिव ३ सय पुगेको छ । खर्चको तुलनामा मुल्य उस्तै छ । उधोग र व्यापारीकै कारण किसान मारमा परेको सत्य हो । यसैले किसानले ठुलो घाटा सहन सकेनन् । यसतर्फ राज्य गम्भीर हुन आवश्यक छ । राज्य गम्भीर नहुने हो भने कृषि उत्पादन सबै आयातमुखी हुनेछ । बेलैमा यस्ता समस्याहरुको पहिचान गरी समाधान गर्नुपर्छ ।

शेयर गर्नुहोस :

0
Shares