शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ स्थित विन्ध्याबासिनी सिंहदेवी मन्दिर (शक्तिपीठ) मा शुक्रबारदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । शक्तिपीठको ७ औं बार्षिक अनुरष्ठानको रुपमा १६ गते रामनवमीका दिन समापन हुने गरि राधाकृष्ण मन्दिर निर्माण, अक्षयकोष, भूमिदानको निरन्तरता दिने उद्देश्यले महायज्ञको आयोजना गरिएको हो ।
प्रमुख अतिथि प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानामगरले पानसमा दिप प्रज्वलन गरेर महायज्ञको उद्घाटन गरेकी थिइन् । त्यस्तै देविका बुढाथोकीले १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक गल्लामा राखेर दानपेटिका उद्घाटन गरेकी थिइन् भने प्रमुख कथा वाचक राधिका दासीले शुभकामना मन्तव्यसहित कथा उद्घाटन गरिन् ।
उद्घाटन समारोहमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज जोशीले कार्यक्रमको औचित्यसहित शक्तिपीठको ऐतिहासिक पृष्ठभूमि बारे अवगत गराएका थिए । जोशीको सभापतित्व तथा केशव भट्टराईको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि राना मगर, अर्जुनधारा नगरपालिका – ४ का वडा अध्यक्ष अम्बर बहादुर कटुवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसअघि कलशयात्राले नगर परिक्रमा गरि कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देनको विशिष्ट आतिथ्यता रहेको थियो । आयोजकका अनुसार उपवाचक पण्डित ऋषिकेश घिमिरे रहने महायज्ञमा दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म पाठपारायण र बिहान ७ बजे देखि १० सम्म चण्डीपाठ प्रत्येक दिन साँझ ७ बजे देखि ९ बजेसम्म कथा महात्म्य, भजन किर्तन, १५ गते साँझ लाखबत्ती बाल्ने र १६ गते कथा समापन, ब्रतवन्ध, हवन तिलक प्रसाद वितरण गरिनेछ ।







प्रतिक्रिया