झापा

प्रतिष्ठानको नाममा जग्गाको स्वामित्व ल्याउने निर्णय

प्रतिष्ठानको नाममा जग्गाको स्वामित्व ल्याउने निर्णय

सार्वजनिक जग्गा विवाद


मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आफूले भोगचलन गरिरहेको जग्गा आफ्नो नाममा दर्ता गराउन नगरपालिकालाई सिफारिस माग गर्ने निर्णय गरेको छ ।

आज बसेको सञ्चालक समितिको वैठकले प्रतिष्ठानले भोगचलन गरेको जग्गाको प्रमाण पत्रहरु जुटाई मेचीनगर नगरपालकाबाट सिफारिस लिई राष्ट्रिय आवास कम्पनीसँग जग्गा दर्ता गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको वैठकले काँकरभिट्टा बहुमुखी क्याम्पस हाताभित्र रहेको १५ कठ्ठा जग्गा मध्ये ३ कठ्ठा जग्गा भानु साहित्यिक प्रतिष्ठानले २०५९ सालदेखि भोगचलन गर्दै आएकोले सो को प्रमाण पत्रहरु नगरपालिकामा पेश गरेर जग्गा दर्ता गराउने निर्णय गरेको छ ।

क्याम्पसले पनि २०७१÷०७२ सालमा प्रतिष्ठानलाई भानुको भवन निर्माण गर्न जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । त्यतिखेरका क्याम्पसका अध्यक्ष विमल आचार्य र क्याम्पस प्रमुख यज्ञराज प्रसाईको हस्ताक्षर रहेको पत्र नम्बर ७६ मा क्याम्पसको नाममा रहेको कि.न.५३ र ५६ को जग्गा मध्ये क्याम्पस परिसरमा नै स्थापना भएको आदिकवि भानुभक्तको प्रतिमा तथा त्यसको संरक्षणका लागि निर्माण भएको ‘भानु साहित्यिक प्रतिष्ठान’ लाई भानुको प्रतिमाबाट उत्तर पश्चिम भवन निर्माण गर्न बनेको नक्सा इस्टिमेट बमोजिमको आवश्यक पर्ने जग्गा प्रतिष्ठानलाई हस्तान्तरण गरिएको व्यहोरा उल्लेख छ ।

त्यस्तै राष्ट्रिय आवास कम्पनी लिमिटेडले पनि २०७५ साउन २५ गते पत्र नम्बर ३० मा मेचीनगर–६ काँकरभिट्टा स्थित सतिघट्टा रोड पूर्व यस कम्पनीको स्वामित्वमा रहेको काँकरभिट्टा क्याम्पस परिसरभित्र रहेको जग्गा भानुभक्तको सालिक र तीन कोठे २ तले भवन (पुस्तकालय) रहेको बीचको जग्गा प्रतिष्ठानको भोग चलनमा रहेको व्यहोरा अवगत गराएको छ ।

प्रतिष्ठानका उपाध्यक्ष डिल्लीराम घिमिरेले प्रतिष्ठानले भोगचलन गरेको जग्गाको स्वामित्व प्रतिष्ठानले नै पाउनु पर्ने दावी गरेका छन् । क्याम्पस सञ्चालक समितिका सल्लाहकार समेत रहेका घिमिरेले दुवै संस्था मेचीनगरका गहना हुन्, दुईटै संस्थाको संरक्षण गर्न आवश्यक रहेको बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् भानु साहित्यिक प्रतिष्ठानका सचिव कमल थापाले क्याम्पसलाई बाधा नहुने गरी प्रतिष्ठानले बनाएको भौतिक संरचना जति प्रतिष्ठानले नै जग्गा दर्ता गराउन पाउनु पर्ने बताए ।

दुवै साहित्यिक र शैक्षिक सार्वजनिक संस्था भएकोले एक अर्कामा मिलेर अघि बढ्दा राम्रो हुने उनको भनाई छ । अहिलेसम्म दुवै संस्थाको नाममा जग्गाको धनिपूर्जा छैन । काँकरभिट्टाका धेरै सार्वजनिक जग्गाहरु अहिलेसम्म राष्ट्रिय आवास कम्पनीको नाममा छ ।

सो सार्वजनिक तथा कम्पनीको नाममा रहेका केहि जग्गाहरु नगरपालिकाको स्वामित्वमा ल्याउन पहल भइरहेको छ ।

 

शेयर गर्नुहोस :

0
Shares