काठमाडौं । निर्माता दीपकराज गिरीले चलचित्र विकास बोर्डले वर्षभरि प्रदर्शित चलचित्रहरूको आम्दानी सार्वजनिक गरेकोमा आपत्ति जनाएका छन् । बोर्डसँग यसरी चलचित्र निर्माताहरूको व्यक्तिगत आम्दानी मिडियामा वितरण गर्ने अधिकार नभएको उनको तर्क छ ।
विकास बोर्डले बक्स अफिसको तथ्यांकलाई आधार मान्दै हिजो २०७९ सालमा प्रदर्शित सबै चलचित्रहरूको ग्रस आम्दानीको सूची सार्वजनिक गरेको थियो । बोर्डको सो सूची सबै मिडियाहरूले प्रकाशित गरेका छन् । गिरीले फेसबुकमा स्टाटस लेख्दै बोर्डको सो कार्यप्रति विरोध जनाएका हुन् । उनले आफ्नो चलचित्र छक्कापञ्जा ४ ले व्यापार गरेको भनेको रकम पनि गलत भएको दाबी गरेका छन् ।
गिरीले विकास बोर्डका अध्यक्ष भुवन केसीले खराब नियत राखेर यसरी चलचित्रहरूको आम्दानी सार्वजनिक गरेको बताए ।
उनले प्रश्न गरे, ‘विनोद चौधरीले एक वर्षमा कति चाउचाउ बेचे भन्ने पब्लिकलाई थाहा छ ? निजी व्यवसायबाट भएको आम्दानी यसरी सार्वजनिक गर्न बोर्डलाई कसले अधिकार दियो ?’
आम्दानी सार्वजनिक हुँदा तपाईंहरुलाई के अप्ठेरो पर्छ भन्ने प्रश्नमा उनले यसबाट जनतामा भ्रम फैलिने उल्लेख गरे ।
‘यति करोड उति करोड कमायो भनेर जुन सूची दिइएको छ, त्यो निर्माताको आम्दानी होइन । त्यो भनेको ग्रस कलेक्सन हो, जसको अलिकति हिस्सा मात्रै निर्माताको भागमा पर्छ । तर, मान्छेले त त्यो सबै हामीले कमाएको भनेर सोच्छन् नि होइन ? भोलि मेरो घरमा चोर पस्यो भने को जिम्मेवार ?’
मिडियाहरूले फलानो चलचित्रले यति व्यापार ग¥यो उति कमायो भनेर लेख्नु नौलो कुरा नभए पनि बोर्डजस्तो नियामक निकायले यसो गर्न नमिल्ने गिरीले तर्क गरे ।
उनले फेरि विनोद चौधरीको उदाहरण दिँदै भने, ‘चौधरीको सम्पत्ति यति छ, कमाइ यति छ भनेर मिडियाले लेख्नु एउटा कुरा हो । तर, कर कार्यालय नै उनले यति कमाए भनेर त निकाल्दैन नि ?’
भुवन केसी चलचित्र विकास बोर्डमा आएदेखि नै यस क्षेत्रमा भाँडभैलो भइरहेको पनि गिरीले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।
कस्तो भाँडभैलो भन्न खोज्नुभएको हो ? भन्ने प्रश्नमा उनले व्याख्या गर्न चाहेनन् ।
गिरीले जवाफ दिए, ‘तपाईँहरू आफैँले देखिरहनुभएको छ नि । म यसमा धेरै बोल्न चाहन्न ।’
विकासले सार्वजनिक गरेको सूचीमा छक्का पञ्चा ४ ले करिब १७ करोड ग्रस कलेन्सन गरेको उल्लेख थियो ।
२०७९ सालमा सर्वाधिक कमाई गर्ने कबड्डी ४ पछिको यो दोस्रो चलचित्र हो ।







प्रतिक्रिया