बिर्तामोड । नेपाल राष्ट्रिय शिक्षक संगठन झापाले सङ्गठनको ४४औं स्थापना दिवसको अवसर पारेर दर्जनौ झापाली शिक्षकहरुलाई सम्मान गरेको छ ।

शिक्षक संगठनद्वारा बुधबार झापाको बिर्तामोडमा आयोजित विशेष समारोहकाबीच शिक्षकहरुलाई अभिनन्दन कदर र सम्मान पत्रद्वारा सम्मान गरिएको हो । सो अवसरमा चार जना शिक्षक नेताहरुलाई अभिनन्दन पत्रद्वारा सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा अंग्रेजी भाषा शिक्षक संघ नेल्टा झापाका अध्यक्ष तथा केन्द्रीय सदस्य धर्मेन्द्र भट्टराई, संगठनका पूर्व जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, पूर्वकोषाध्यक्ष नेत्र प्रसाद अधिकारी र जिल्ला कमिटी सदस्य कमला सिवाकोटी रहेका छन् ।
यसैगरी झापाका १५ पालिकाबाट दुई दर्जन बढी शिक्षकहरुलाई कदर पत्रद्वारा सम्मान गरिएको छ भने वर्षभरिमा निवृत्त भएका दर्जनौ शिक्षकहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
संगठनका झापा जिल्ला अध्यक्ष द्रोण बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि संगठनका राष्ट्रिय उपाध्यक्ष सूर्य प्रसाद दाहाल, संगठनका पूर्व केन्द्रिय सचिव हरिचरण बानियाँ, पूर्व अध्यक्ष नारायण प्रसाद गौतम, डम्बर बहादुर देउजा, शिक्षा समन्वय इकाइका प्रमुख राजकुमार विक लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अभिनन्दित हुनेहरूको तर्फबाट धर्मेन्द्र भट्टराई र कृष्णप्रसाद अधिकारीले मन्तव्य राखेका थिए । संगठनका झापा जिल्ला अध्यक्ष तारादेवी विश्वकर्माले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव लम्बोदर पौड्यालले गरेका थिए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले हरेक वर्ष चैत्र २९ गतेलाई संगठनको स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।







प्रतिक्रिया