कृषि

विषादीमुक्त अभियानमा कनकाई नगरपालिका

विषादीमुक्त अभियानमा कनकाई नगरपालिका


कनकाई । झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रमा विषादीमुक्त अभियान संचालन गरेको छ । कनकार्यमा कारितास नेपालको आयोजना एवं नगरपालिकाको आर्थिक सहयोगमा नगर क्षेत्रमा विषादी मुक्त सप्ताह संचालन गरिएको हो ।

एक कार्यक्रमका बीच सप्ताह कार्यक्रमको समापन गरिएको छ भने विषादीमुक्त अभियानलाई निरन्तरता दिँदै अघि बढ्ने उद्घोष गरिएको छ । कनकाई नगरपालिकाको आर्थिक सहयोगमा कारितास नेपालले नगरका विभिन्न वडामा समूह निर्माण गरी जैविक तथा आइपीएम खेती प्रबद्र्धन कार्यक्रम संचालन गर्दै आएको छ ।

सुरुङ्गा जेसीजको सभाहलमा विभिन्न समूहमा रहेका कृषकहरु सहभागी रहेको कार्यक्रमका अवसरमा उपस्थित सबैले हातमा प्ले कार्ड लिएर बजार परिक्रमा गरेका थिए । समृद्ध कनकाई हाम्रो रहर, विषादी रहित सुन्दर शहर लगायत विषादी प्रयोग गर्दा हुने हानीका बारेमा सचेतना जगाउँर्दै र्याली प्रदर्शन गरिएको थियो ।

औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कारितास नेपालसँगको सहकार्यमा भएको कार्यक्रमले कनकाई नगर क्षेत्रलाई विषादीमुक्त नगर बनाउँन थप सहयोग पुगेको बताएका छन् । जनप्रतिनिधिका रुपमा स्थानीय तहको नेतृत्व सम्हाले यता कनकाईलाई विषादी मुक्त नगर बनाउँन विभिन्न कार्यक्रम संचालन गरिसकेको भएपनि पछिल्लो समय कारितास नेपालसँगको सहकार्यमा अभियानले तिव्रता पाएको नगर प्रमुख पोखरेलले बताए । विषादीका कारण क्यान्सर लगायत विभिन्न रोगबाट ग्रसीत बनेका नगरबासीको दयनीय अवस्थालाई मध्यनजर गर्दै कनकाई नगर क्षेत्रमा कृषि बालीलाई विषादी मुक्त बनाउन केही वर्ष अघिदेखि नै कारितास नेपालसँगको सहकार्यमा नगरका विभिन्न वडामा सामुहिक अग्र्यानिक खेती संचालन गर्दै आएको नगर प्रमुख पोखरेलले प्रष्ट पारे ।

‘आइपीएम प्रविधि अपनाउँ, दिगो कृषिमा टेवा पु¥याउँं’ भन्ने मूल नाराका साथ कारितास नेपालले संचालन गरेको अभियानमा जैविक तथा आइपीएम खेती प्रवद्र्धन कार्यक्रमलाई प्राथमिक्ताका साथ अघि बढाइएको कारितास नेपाल कनकाईका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले जानकारी दिए । कारितास नेपालको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा कनकाई नगरलाई कृषि बालीमा विषादी मुक्त गर्ने अभियानकालागि सप्ताहको आयोजना गरिएको कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक शिवाकोटी बताउँछन् ।

कार्यक्रममा कृषकहरुले उत्पादन गरेका विभिन्न तरकारी बालीमा कसरी विषादी रहित बनाउने भन्ने बारेमा सचेतनामुलक नाटक प्रस्तुत गरिएको थियो भने विद्यार्थीहरुले समेत ‘रासायनिक विषादी न्यूनीकरणमा विद्यार्थीको भुमिका’ विषयक सचेतनामुलक वक्तृत्वकला प्रस्तुत गरेका थिए । वक्तृत्वकला प्रतियोगितामा हरिकुल नमुना माविकी छात्रा नुमा शेर्मा प्रथम, झापा मेरीगोल्ड अंग्रेजी मावीकी प्रिन्सा तिम्सिना दोस्रो र झापा मेरीगोल्डकै आदित्य बुढाथोकीले तेस्रो स्थान प्राप्त गर्न सफल भएकक थिए भने पशुपति अंगे्रजी माविकी प्राप्ती गौतम चौथो भएकी थिइन् ।

अगुवा कृषक भीम सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कारितास नेपालका प्रादेशिक प्रवन्धक देवेन्द्र पोखरेलले सहभागीहरुलाई स्वागतसहित औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा कनकाई—२ का वडाअध्यक्ष प्रताप राई, वडा नं.—३ का अध्यक्ष युवराज चम्लागाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन कारितास नेपालका कृषि प्राविधिक टंकप्रसाद कट्टेलले गरेका थिए । स्थानीय जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा कनकाई नगरपालिका क्षेत्रका विभिन्न वडामा रहेका कृषक समुह सहित अन्य पालिकाबाट समेत कृषकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares