गगन ढकाल
झापा । झापामा पछिल्लो समय मकै खेतीमा किसानहरुको आकर्षण बढेको पाइएको छ । आर्थिक वर्ष ०७८/७९ जिल्लामा कुल ४४ हजार ५२ हेक्टरमा गरिएको मकै खेती यो वर्ष कम्तिमा ५० हेक्टर बढ्ने कृषि ज्ञानकेन्द्र झापाले अनुमान गरेको छ ।
उक्त आर्थिक वर्षमा जिल्लामा एक लाख ८० हजार छ सय ८७ मेट्रिक टन उत्पादन भएको थियो । झापामा मकैको उत्पादनत्व वृद्धिकै अवस्थामा रहेकाले उत्पादन पनि बढ्ने अनुमान गरिएको छ । हाल झापामा मकैको उत्पादकत्व चार दशमलब एक रहेको कृषि ज्ञानकेन्द्र झापाका सूचना अधिकारी गणेश सिवाकोटीले बताएका छन् ।
झापाका किसानमा मकै खेतीप्रति आकर्षण बढेसँगै खेती हुने क्षेत्रफ वृद्धि हुने अनुमान गरिएको हो । कृषि ज्ञानकेन्द्र झापाले आर्थिक वर्ष ०७६/७७ देखि निरन्तर हाईब्रीड मकै बिस्तार आयोजना कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्र्तगत ज्ञानकेन्द्रले किसानहरुलाई आबद्ध हुन आह्वान गर्छ । यस कार्यक्रममा सहभागी भएका हाईब्रीड मकै खेती गर्ने किसानहरुले प्रति कठ्ठा पाँच सय रुपैयाँ प्रोत्साहन अनुदान प्राप्त गर्दछन् । यस कार्यक्रमले मकै खेतीतर्फ किसानहरुलाई थप आकर्षित गरेको सूचना अधिकारी सिवाकोटीले बताए ।
झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र बाली बिकास तथा जैविक विविधता संरक्षण केन्द्रले पनि मकै प्रबर्धन कार्यक्रम सञ्चालन गरेको छ । यस परियोजनाहरुले पनि मकै खेतीमा किसानहरुलाई आकर्षण गरिरहेको छ ।
बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकामा बाली बिकास तथा जैविक विविधता संरक्षण केन्द्रको मकै प्र्रवर्धन कार्यक्रमहरु सञ्चालन भइरहेको छ । यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्र्तगत झापा गाउँपालिकामा मकै जोन कार्यक्रम सञ्चालन भइरहेको छ ।
मकैको बजारमा कुनै पनि समस्या नभएकाले पनि यसप्रति किसानहरुको आकर्षण बढेको सूचना अधिकारी सिवाकोटी दाबी छ । यसै गरी झापामा अमेरिकन फौजी किरासँग डराउन पर्ने अवस्था नरहेको उनको भनाइ छ । उनले फौजी किरा मार्ने विषादीहरु पनि झापामा पर्याप्त मात्रामा भएकनले डराउन पर्ने अवस्था छैन । जिल्लाका सबै पालिकाको कृषि विकास शाखामा मकैमा लाग्ने किराहरुको औंषधी उपलब्ध रहेको उनले बताए । झापामा यस प्रकारको किराहरुको सामान्य मात्र असर पर्ने सम्भावना रहेको उनले जिकिर गरे । उनले यदी धेरै नै क्षति भइहाले आपत्कालिन बाली संरक्षण सेवा सञ्चालनमा रहेको र यसले तत्काल किराहरुको न्यूनीकरणको काम गर्न सक्ने बताएका छन् । उनले आवश्यकता आइपरे बाली उपचार शिविर नै सञ्चालन गर्न सक्ने बताएका छन् ।
जिल्लाका कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिका लगायतका पालिकाहरुमा अधिक मात्रामा मकै खेती गरिने सूचना अधिकारी सिवाकोटीले जानकारी दिए । उनले मेचीनगर नगरपालिका र कनकाई नगरपालिका क्षेत्रमा पनि केही मात्रामा मकै खेती हुने गरेको बताए । यसैगरी झापाका अन्य पालिकामा चाहिँ व्यवसायिक तवरले मकै खेती नगरे तापनि घरायसी प्रयोगको निम्ति गरिने गरेको उनले बताए ।
झापामा हाईब्रीड मकैहरुमा सिपी ६६६, सिपी ८०८, टिएसएन ३६९ जातका बीउहरु लगाइन्छन् । साथै नेपाली बीउमा रामपुर जातका मकै लाइने गरेको छ भने स्थानीय जातको मकै एकदमै न्यून रुपमा रोपिने सूचना अधिकारी सिवाकोटी बताएका छन् ।
झापामा धेरै खेती योग्य जमिन बाँझो रहेकोमा सूचना अधिकारी सिवाकोटीले दुःख व्यक्त गर्दै जमिन बाँझो नराख्न आग्रह गरेका छन् । हामीले जमिन बाँझो नराखी खेती गरे मात्रै कृषिजन्य बस्तुमा निर्यात घटाउन सक्ने उनले बताएका छन् ।
झापा मकैमा आत्मनिर्भर रहेको सूचना उनले जानकारी दिएका छन् ।







प्रतिक्रिया