सम्पादकीय
झापाको बिर्तामोड नगरपालिका वडा नं. ५ मा बुधबारे हटिया छ । कृषिथोक उत्तर भागमा रहेको बजार बुधबारे हटिया हो । जसलाई देवि हाट पनि भन्ने गरिन्छ । जग्गादाता देवि प्रसाईको नाममा बजारको नाम पनि देवि हाट रहन गयो । बुधबारका दिन बजार लगाउने आवश्यक देखिएपछि प्रसाईले बहुमुल्य जग्गा दान गरेका थिए । जग्गा अहिले नगरपालिकाको स्वामित्वमा रहेको छ । जग्गादाताको उद्देश्य अनुरुप बजार चलेको छैन । गरिव, विपन्न नागरिकका लागि बजार लगाउन दिएको ठाउँ थियो । त्यहाँको आम्दानीको केहि प्रतिशत रकम गरिव बालबालिकाको शिक्षाका खर्च गर्ने पवित्र उद्देश्य पनि थियो । तर, अहिले बजारबाट त्यो उद्देश्य पुरा हुन सकेको छैन ।
बुधबारे हटिया बिर्तामोडको एउटा इतिहास हो । जसको विकास, संरक्षण जरुरी देखिएको छ । मध्य बजारमा रहेको हाटको अगाडिको भाग केहि हदसम्म राम्रो देखिन्छ । तर, पछाडिको भाग दुर्गन्धित हुन पुगेको छ । लागुऔषध दुव्र्यसनको अखडा बनेको छ । अव्यवस्थित बधशाला सञ्चालनमा छन् । दर्जनौ परिवारले जमिन अतिक्रमण गरेर घर, टहरा गरेर बसको अवस्था छ । वर्तमान दुरदशा हटाएर व्यवसायीहरुकै निमित्त व्यवस्थित बहुतले पार्किङ सहितको व्यापारिक भवन निर्माणको प्रक्रिया बढाइएको छ । जसलाई सहयोग गर्नुको विकल्प छैन ।
बिर्तामोड नगरपालिकाले व्यापारिक भवन निर्माणको लागि शुक्रवार साँझ घर, टहरा र संरचनाहरु खाली गरिदिन माइकिङ गरेको छ । राजनीतिक दलहरुको सहमतिबाट अघि बढेको नगरपालिका विकासका लागि कुनै पनि बहानामा पछि हट्न हुदैन । तत्कालका लागि व्यापारीहरुलाई दुख हुन सक्छ । तर, दीर्घकालिन हिसाव सोच्दै व्यापारीहरुले पनि भविष्यको सुविधाका लागि भवन निर्माण गर्न जरुरी छ । अहिलेलाई वैकल्पिक व्यवस्था मिलाएर व्यापारीहरुले नगरपालिकालाई सहयोग गर्नैपर्छ । कसैको लहैलहैमा लागेर व्यापारीहरुले असहयोग गर्नुहुदैन । आफ्नो ठाउँको विकासमा कुनै पनि दल, व्यापारीक संघ संस्थाले अवरोध गर्नुहुदैन । नगरले ठाउँ खाली गर्न संभवतःअन्तिम माइकिङ गरेको हुनुपर्छ । अब पनि व्यापारीले नछोडेमा नगरपालिका कानुन बमोजिम अघि बढ्नेछ । त्यसले व्यापारीलाई क्षति हुन्छ । बेलैमा विचार पुराएर विकास निर्माणलाई सहयोग गरौं । अहिले गरिएको सहयोगले भविष्यमा मुल्याङ्कन हुन सक्छ ।







प्रतिक्रिया