झापा । नेकपा एमालेले स्वास्थ्य क्षेत्रमा सरकारले बिनियोजन गरेको बजेट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मान्यताविपरीत भएको बताएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-०८१ को बजेट वक्तव्यमा उल्लेखित स्वास्थ्य क्षेत्रको बजेट न्यून हुनाका साथै डब्ल्यूएचओको मान्यताविपरीत भएको बताएको हो । नेकपा एमालेका सचिव एवं स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले बिहीवार विज्ञप्ति जारी गरी सरकारले विगत पाँच आर्थिक वर्षको तुलनाका आगामी आर्थिक वर्षका लागि अत्यन्त न्यून बजेट विनियोजन गरेको र विनियोजित रकम डब्ल्यूएचओको मान्यताविपरीत भएको उल्लेख गरेका छन् ।
‘विश्व स्वास्थ्य संगठनले कुनै पनि मुलुकको कुल बजेटको न्यूनतम १० प्रतिशत स्वास्थ्यमा लगानी गर्नुपर्ने मान्यता अघि सारेको छ। सरकारले आर्थिक वर्ष २०५०-०८१ का लागि प्रस्तुत गरेको बजेटले उपरोक्त मान्यतालाई आत्मसात् गर्न सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘आगामी वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड १८ लाख छुट्याइएको छ जुन संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट रकम हो । यो विनियोजन चालू वर्षभन्दा करिब १९ अर्बले कमी हो। नेकपा (एमाले)को सरकारले प्रस्तुत गरेको बजेटमा ८६ प्रतिशतसम्म आर्थिक वर्ष २०७८-०७९) पुगेको बजेटलाई क्रमशः बढाउनुपर्नेमा घटाएर हाल ४.८ प्रतिशतमा सीमित गरेको छ ।’
आर्थिक वर्ष २०७५-०७६ मा ५.२ प्रतिशत, २०७६-०७७ मा ५.८ प्रतिशत, २०७७-०७८ मा ७.३ प्रतिशत, २०७८-०७९ मा ८.६ प्रतिशत र २०७९-८० मा ५.७ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको विज्ञप्तिमा उल्लेख छ । अहिले सरकारले जम्मा ४.८ प्रतिशत मात्रै बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नु दुःखद् पक्ष भएको एमालेको भनाइ छ ।
प्रस्तुत बजेटले विगत नेकपा एमालेको सरकारले पालिकास्तरमा ५, १० र १५ शैय्याका आधारभूत अस्पताल निर्माणका लागि बजेटको सुनिश्चिततासहित कार्यआरम्भ गरेको भए पनि हालको बजेट अवस्थालाई हेर्दा ती योजनाहरू अगाडि बढान नसकिने देखिएको एमालेको ठहर छ ।
ती अस्पतालहरू बनाउन सरकारले आगामी आर्थिक वर्षका बजेटमा ८ अर्ब मात्रै छुट्टयाएको छ । तर विगतमा सम्झौता भएका, निरन्तर काम भएका र सम्पन्न भएका अस्पतालहरूलाई करिब १० अर्ब रुपैयाँ भुक्तानी दिनै बाँकी छ । यसबाट काम सुरू भएका र थप पालिकामा आधारभूत अस्पताल बनाउन असम्भव रहेको बताइएको छ ।







प्रतिक्रिया