Banner news

झापा ट्राफिकको दश महिना : दुर्घटनाबाट ९८ ज्यान गयो, ४३ हजार सवारी कारवाहीमा

झापा ट्राफिकको दश महिना : दुर्घटनाबाट ९८ ज्यान गयो, ४३ हजार सवारी कारवाहीमा


लक्ष्मी उप्रेती

झापा । झापा जिल्लामा हुने अधिकांश सवारी दुर्घटना तीब्र गतिमा सवारी चलाएकै कारण हुने गरेको छ । चालु आर्थिक वर्ष २०७९-०८० को दश महिनामा झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि प्रहरीले गरेको अध्ययन अनुसन्धानबाट यस्तो पाइएको हो । हो । प्रहरीले समेत अधिकांश चालकले तीब्ररुपमा सवारी चलाउँदा दुर्घटना हुने र धनजनको क्षति हुने निष्कर्षमा निकालेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०७९-०८० को साउनदेखि बैशाख महिनासम्म जिल्लाका अलगअलग स्थानमा ६ सय ७० वटा सवारी दुर्घटना भएका छन् । त्यसमा ९ सय ८५ वटा सवारी साधन संलग्न छन् । कुल दुर्घटना संख्यामध्ये ६० प्रतिशत दुर्घटना चालकले तीव्ररुपमा सवारी चलाएकै कारण भएको ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रविन जोशी ज्ञवालीको भनाई छ । ‘यसलाई चालकको लापरवाही पनि भन्न मिल्छ, तीव्ररुपमा सवारी चलाउँदा कुनै समस्या आए उसले समयमै आफ्नो सवारी साधन नियन्त्रणमा लिन सक्दैंन् त्यसकारण दुर्घटना हुन्छ ’ उनले भने ।

हुन् त सवारी दुर्घटनामा यात्रुको पनि गल्ती हुने भएपनि त्यो संख्या ज्यादैं न्यून देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरी सहायक निरीक्षक यमकुमार खड्का बताउछन् । जिल्लामा पैदल र सवारी साधनमा यात्रारत यात्रुका कारण १५ प्रतिशत दुर्घटना भएको अभिलेख कार्यालयसँग छ । त्यसपछि मादक पदार्थ सेवन गरेर, सडकमा जताभावी चौपाया छाडेका कारण ५÷५ प्रतिशत घटना भएका छन् । सवारी साधन एकअर्कामा प्रतिस्पर्धा गर्दा, यान्त्रिक गडबडी, सडकको अवस्था पनि सवारी दुर्घटनाका कारण रहेको ट्राफिक प्रहरी सहायक निरीक्षक खड्का बताउछन् ।

प्रहरीले झापाको मेचीनगर–६ पालिया पुल, १३ नम्बर वडाको कालीझोडा, कन्काई नगरपालिका–३ जुके कल्भर्ट, शिवसताक्षी नगरपालिका–१० को माइधार, २ नम्बर वडाको धरमपुर, कमल गाउँपालिका–३ को सानो केर्खा –५ नम्बर वडाको पाडाजुंगी, दमक नगरपालिकाको क्याम्पस मोडसहित आठवटा स्थानलाई बढि दुर्घटना हुने स्थानका रुपमा राखेको छ । यसवाहेक अन्य साइड मार्गमा समेत दुर्घटना हुने गरेको भए पनि त्यसक्षेत्रमा न्यून संख्यामा दुर्घटना हुने गरेको ट्राफिक प्रहरी निरीक्षक ज्ञवालीको भनाई छ । अधिकांश सवारी दुर्घटना विहान र राति हुने गरेका छन् । विहान ६ देखि मध्यान्ह १२, मध्यान्ह र अपरान्ह ३ देखि मध्यरातको समयमा हुने गरेको बताईएको छ ।

झापामा ९८ जनाको मृत्यु
चालु आर्थिक वर्ष २०७९-०८० को दश महिनामा झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जना बालबालिकासहित ९८ जनाको ज्यान गएको छ । ७१ जना पुरुष, २१ जना महिला २ जना बालक र ४ जना बालिकाको ज्यान गएको हो । प्रहरीको अभिलेखलाई आधारमान्दा सवैभन्दा बढि असोज महिनामा १६ जनाले ज्यान गुमाए । असोजमा दशैंलगायतका चाडपर्व परेका कारण पनि संख्या बढि देखिएको हो । चाडपर्वमा मानिसको ओहोरदोहोर गर्ने चाप बढेका कारण र त्यस वेला सवारी दुर्घटना पनि बढि हुने गरेको हुन्छ ।

सवैभन्दा कम भदौं महिनामा ५ जनाको मृत्यु भएको छ । साउन महिनामा १२ जना, कात्तिक महिनामा ९ जना, मंसिर महिनामा १४ जना, पुस महिनामा १२ जना माघ महिनामा ७ जना फागुन महिनामा १० जना चैत महिनामा ७ जना र बैशाख महिनामा ६ जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएको ट्राफिक प्रहरी सहायक निरीक्षक यमकुमार खड्काले जानकारी दिए ।
अन्य सवारी साधनको तुलनामा मोटरसाइकल दुर्घटनमा परी ज्यान गुमाउँनेको तथ्याङ्क प्रहरीसँग लामै छ । प्रहरीको भनाई अनुसार झापा जिल्लामा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या अन्य सवारी साधनका तुलनामा झण्डै ७० प्रतिशत छ । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउने पनि कलिलै उमेरका बढी रहेको कार्यालयले जनाएको छ । क्षमता भन्दाबढी चढ्ने अनि तीव्र गतिमा चलाउने गरेका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाई छ । अझ हेल्मेट नलगाई मोटरसाइकल चलाउदा यात्रा झन् जोखिम हुने गरेको छ । मोटरसाइकल चलाउदा अनिवार्य हेल्मेट लगाउनु पर्ने भएपनि अधिकांशले हेल्मेट प्रयोग गर्दैनन् ।

अझ प्रहरीको अनुपस्थित हुने क्षेत्रमा पुरै लापरवाही हुने गरेको छ । यस्तो समस्या ग्रामीण क्षेत्रका सडकमा धेरै रहेको प्रहरीको भनाई छ । चालक अनुमति पत्र बिना सवारी चलाउन नपाइने नियम भए पनि लाइसेन्स बिना सवारी साधन चलाएका घटना पनि प्रसस्त रहेका छन् । उनीहरु कारवाहीमा पर्ने गरेको प्रहरी बताउछन् ।

झापाका सवारी दुर्घटनामा परेर १ सय १९ पुरुष २४ महिला ४ बालक र ५ बालिका गरी कुल १ सय ५२ जना सख्त घाईते भएका छन् भने ९ सय २९ जना सामान्य घाइते भएका छन् । कार्यालयका अनुसार ६ सय ८४ पुरुष १ सय ८६ महिला २७ बालक र ३२ बालिका सामान्य घाइते भएका हुन् ।

४३ हजार सवारीलाई कारवाही
चालु आर्थिक वर्ष २०७९-०८० को दश महिनामा कार्यालयले सवारी नियम उल्लंघन गर्ने ४३ हजार ७ सय ५० वटा सवारी साधनलाई कारवाही गरेको छ । कारवाही स्वरुप ३ करोड ३१ लाख ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

जिल्लामा सवारी नियम उल्लंघन गर्नेमा पनि सवैभन्दा बढी मोटरसाइकल नै रहेका छन् । चालु आर्थिक बर्ष २०७९-०८० को पहिलो दश महिनामा जिल्लामा १४ हजार १ सय ५२ वटा मोटरसाइकलले सवारी नियम उल्लंघन गरेको तथ्याङक् जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासँग छ । मोटरसाइकललाई कारवाही गरेर ९१ लाख ७३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

सवारी साधनका आवश्यक कागजात नबोक्ने, क्षमता भन्दा बढि बोक्ने, जताभावी पार्किङ गर्ने, हेल्मेट नलगाउने, डिजिटल हर्न बजाउने मादक पदार्थ सेवन गरी सवारी चलाउने कारवाहीमा परेका हुन् । सवारी चालकले गर्ने गल्तीको प्रकृति अनुसार जरिवाना गरिने कार्यालयले जनाएको छ । सवारी दुर्घटनामा कमि ल्याउन कार्यालयले बेलाबेलामा जिल्लाका अलग–अलग स्थानमा छड्के चेकजाँच गर्ने गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares