मुख्य समाचार

मेचीनगरमा पुष्पलालको स्मृति दिवस

मेचीनगरमा पुष्पलालको स्मृति दिवस


मेचीनगर –  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसका अवसरमा झापाको मेचीनगरमा विविध कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर— ६ काँकरभिट्टामा रहेको विपी पुष्पलाल बाटिका तथा शहिद स्मृति प्रतिष्ठानमा रहेको उहाँको पूर्णकदको शालिकमा माल्यर्पण गरी कार्यक्रम शुरु भएको थियो ।

१५ असार १९८१ मा पूर्व २ नं. रामेछाप जिल्लाको भँगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा–गराउँदै निधन भएको थियो ।

नेकपा एमाले मेचीनगर कमिटीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती र विशिष्ट अतिथि नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य विष्णुप्रसाद प्रसाईले पुष्पलाल र महामानव विपी कोईरालाको शालिकमा माल्यर्पण गरी कार्यक्रमको उद्घाटन गर्नुभएाके थियो । प्रमुख अतिथि केन्द्रिय सदस्य उप्रेतीले उहाँकै विचारका कारणले कम्युनिष्ट पार्टी अहिलेसम्म जीवित रहेको र उहाँ कम्युनिष्ट आन्दोलनका प्रणेता र इतिहासपुरुष भएको स्पष्ट पार्नुभयो ।

नेपालमा जहानियाँ राणाशासन कायम रहेका बेला भारतको कलकत्ता, श्याम बजारमा गोप्य रूपमा र भूमिगत तरिकाबाट नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्न उहाँ सफल हुनुभएको र उहाँकै सक्रियतामा पुष्पलालले १० वैशाख २००६ (२२ अप्रिल १९४९ ) का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको स्पष्ट पार्नुभयो । संस्थापक महासचिव पुष्पलालले नेतृत्व गरेर उहाँसहित ६ जना पुष्पलाल, नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, मोतीदेवी, निरन्जन गोविन्द वैद्य संस्थापकको रूपमा चिनिनुभएको कार्यक्रममा बताईयो ।

सामान्यतया पुष्पलाल भन्नेबित्तिकै सबैको मानसपटलमा ‘कम्युनिष्ट’ भन्ने चिजको स्मरण गराउँछ । आज उहाँको योगदानको स्मरण गरी ४५ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइन्छ । विशेषगरीः नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको योगदानको सम्झना गर्ने गर्दछन् ।

पार्टीका नगर अध्यक्ष राजु पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य विष्णुप्रसाद प्रसाईलगायतले बोल्नुभएको थियो । नगर सचिव कञ्चन तामाङ्गले सञ्चालन गर्नुभएको कार्यक्रममा उपसचिव जगन भट्टराईले स्वागत गर्नुभएको थियो ।

शेयर गर्नुहोस :

0
Shares