सम्पादकीय

साम्प्रदायिक एकता बलियो बनाऔं

साम्प्रदायिक एकता बलियो बनाऔं


सम्पादकीय

नेपाली समाज बहुजातीय पहिचानले भरिपुर्ण छ । हरेक जातजातिका आ–आफ्नै भाषा, धर्म र संस्कृति छ । विश्वमा नेपाली समाजको संस्कृति विशेष छ । विश्वमा नेपाल र भारतको संस्कृति महत्वपूर्ण रुपमा हेरिन्छ । किनभने यहाँ विविध धर्म, समुदाय र संस्कृति छ । हिमाल, पहाड र तराईको रहनसहन फरक छ । आफ्नै चाडवाड छन् । यो सुन्दर नेपाली समाजमा पछिल्लो समय भड्काउ गतिविधि सञ्चालनको प्रयासहरु भइरहेका छन् । मिलेर बसेको सुन्दर समाजलाई तितरवितर बनाएर गलत स्वार्थ पुरा गर्ने चेष्टा भइरहेको छ । यस तर्फ आम नागरिक सचेत र सजग हुनुपर्छ ।

सबै जाति समुदाय र धर्मको आ–आफ्नै महत्व छ । एकले अर्को समुदाय र धर्मलाई सम्मान गर्नुपर्छ । नेपाली समाज संस्कारयुक्त समाजको रुपमा चित्रिच छ । तर, केहि समययताको गतिविधिले नेपालीहरुको त्यो संस्कारलाई भुल्याउने काम भइरहेको छ । धरानमा पहिचानवादीको नाममा गाई, गोरु काटेर मासु खाएको भन्दै भिडियो सार्वजनिक गरियो । जब राष्ट्रिय जनवारलाई नै काटेर खाएको भन्दै भिडियो सार्वजनिक गरिन्छ भने त्यो अराजकताको हद हो । कुनै पनि धर्मले राष्ट्रिय जनावरलाई काटेर खानु, प्रदर्शन गर्नु भन्दैन ।

नेपाल धर्मनिरपेक्ष राष्ट्र हो । यो व्यवस्थाले सबै धर्मको सम्मान गरेको छ । तर, धर्मनिरपेक्षताको नाममा जथाभावी गर्ने छुट कसैलाई छैन । धर्मनिरपेक्ष भएपनि हिन्दु धर्मालम्वीहरुको बसोबास धेरै भएको कारण यस प्रकारको गतिविधि उचित हुदैन । सनातन हिन्दु धर्मलाई खिसी गर्ने काम कसैबाट हुनुहुदैन । अर्को समुदाय र धर्मलाई लक्षित गरेर कुनै पनि गलत गतिविधि गर्नु राम्रो होइन । झापाको भद्रपुरमा पनि गोरु काटेर खाएको भिडियोहरु सार्वजनिक गर्दै सांस्कृति क्रान्ति गरेको भनियो । यस प्रकारका कुनै पनि गतिविधि गर्न हुदैन । सबैले सबैको धर्म, संस्कृतिको सम्मान गरेर साम्प्रदायिक एकताको वातावरण बलियो बनाउनुपर्छ ।

शेयर गर्नुहोस :

0
Shares