Uncategorized

लोकतन्त्रलाई थप सुदृढ गर्ने हो भने एमालेमा आउनुहोस् : ओली

लोकतन्त्रलाई थप सुदृढ गर्ने हो भने एमालेमा आउनुहोस् : ओली


तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीको एउटै समस्या गरिबी र अभाव भएको बताएका छन् ।
एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा बिहीबार तेह्रथुमको बसन्तपुरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गरिबी, अशिक्षा, अभाव, बेरोजगारी, विपन्नता नै नेपालका साझा शत्रु भएका बताए । ‘पूर्वमा होस् अथवा पश्चिममा, जहाँ बसे पनि हाम्रो समस्या एउटै छ, गरिबी, बेरोजगारी, विपन्नता, भोकमरी, अभाव आदि जस्ता कुरा हामी सबैका साझा समस्या हुन्छ’, उनले भने ।

संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरेर सुशासन र विकासको बाटोतिर लाग्नुपर्नेमा उनले जोड दिए । जसका लागि कृषिमा व्यवसायीकरण र वैज्ञानिकीकरण गर्न आवश्यक रहेको उनले बताए । देशभरी कुन ठाउँमा कस्तो विशेषता छ त्यही अनुसारको आधुनिक कृषि प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ । माटो अनुसारको खेतीपाती गर्नुपर्छ, अब ससानो होइन ठुलो मात्राको उत्पादन गर्नुपर्दछ’, उनले भने ।

नेपाली जनतामा देशको स्वाधीनता, स्वाभिमान, भौगोलिक अखण्डतालाई तलमाथि पर्न नदिने संकल्प रहेको ओलीले बताए । विश्वका ठुला ठुला देश उपनिवेश हुँदा पनि नेपाल कहिल्यै उपनिवेश नभएको गौरवपूर्ण इतिहास रहेको उहाँको भनाइ छ । ‘हाम्रो देशको विकास हामीले नै गर्न सक्छौँ’, उनले भने ।

अहिले देशमा वितण्डा मच्चाउन अनेक खालका काम भएको र त्यसमा सरकारमा नै रहेका व्यक्तिको संलग्नता रहेको ओलीले बताए । नेकपा एमाले शान्तिपूर्ण ढङ्गले देश विकासमा दृढसंकल्पित रहेको उनको भनाई छ । लोकतन्त्रलाई अघि बढाउने पार्टी भएकोले अन्यत्र अलमलिएकालाई पनि एमालेमा आउन र थप सुदृढ पार्टी बनाउने आह्वान गरेका छन् । ‘अब नेकपा एमाले जाग्नु पर्छ’, उनले भने ।

ओलीले सबैलाई शान्तिपूर्ण ढङ्गले आफ्ना विचार राख्न सबैलाई आग्रह गरेका छन् । ‘गलत बाटो लिएर सही ठाउँमा कोही पनि पुग्दैन, पुगेको छैन, म आग्रह गर्न चाहन्छु शान्ति बिना देशको विकास हुँदैन’, ओलीले भने ।
अहिले सरकारमा रहेकाहरू क्विन्टलका क्विन्टल सुन तस्करी गरेर बसेको बताए । एनसीयल बिक्री प्रकरणमा पनि सरकारको प्रत्यक्ष संलग्नता रहेको ओलीले टिप्पणी गरेका छन् । सरकारले जालसाजी गरेर तीन वर्षपछि सरकारको स्वामित्वमा आउने एनसीएल कौडिको भाउमा अर्को कम्पनीमा नामसारी गर्न लगाएको उनको भनाइ छ ।

ओलीले नेकपा एमालेले आफ्नालागि नभएर देश र जनताको लागि काम गरिहरेको बताए । नेकपा एमालले सम्पूर्ण जनताको राष्ट्रिय आकांक्षालाई आफ्नो गन्तव्य बनाएर अघि बढेको उनले स्पष्ट पारेका छन् । देशमा अब परिवर्तन आवश्यक भएकोले एमालेले मिसन २०८४ भनिरहेको उनले बताए । झुलाघाट–चिवाभञ्ज्याङ अभियान मिसन २०८४ कै एउटा अङ्ग भएको उनले प्रष्ट पारे ।

राष्ट्रिय शक्तिलाई कसैले पछार्न नसक्ने गरी अपराजी बनाउने मिसन २०८४ जरुरी रहेको उनले बताएका हुन् । त्यसको लागि नेकपा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उनको भनाइ छ ।

अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकार कुनै पनि बेला ढल्न सक्ने बताएका छन् । एमालेलाई सरकारबाट हटाएपछि देश अराजनीतिक गतिविधि ‘कति बेर सरकार ढल्छ टुङ्गो छैन, ढल्न त यो सरकार ढल्छ’, उनले भने । मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा सरिक छन् । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

शेयर गर्नुहोस :

0
Shares