डिल्लीराजको समस्या बारे बुधबार गाउँपालिकाले छलफल राख्ने
बिर्तामोड । शिक्षकहरुको माग अनुसार तत्काल छलफल राख्ने सहमतिपछि झापा गाउँपालिकास्थित डिल्लीराज माविमा शिक्षकहरुले गरेको तालाबन्दी खोलिएको छ ।
झापा गाउँपालिकाको कार्यवाहक अध्यक्ष अञ्जु थपलियाको रोहवरमा ताला खोलिएको हो । शिक्षकहरुको माग अनुसार बुधबार गाउँपालिकामा छलफल राख्ने सहमतिपछि ताला खोलिएको आन्दोलनरत शिक्षकहरुले जानकारी दिए । उनीहरुले प्रअ विरेन्द्र प्रसाद गुप्ताको कारण विद्यालयको बद्मान भएको भन्दै तत्काल निलम्बन गर्नुपर्ने माग समेत गरेका छन् ।
शिक्षकहरुले सोमवार विहान ११ बजे विभिन्न माग राख्दै तालाबन्दी गरेका थिए । तालावन्दी लगत्तैं गाउँपालिकाको टोली विद्यालय पुगेको थियो । प्रअ गुप्ताको कोठा र जिन्सी शाखामा तालाबन्दी गरिएको शिक्षक प्रतिनिधि एकनारायण गणेशले जानकारी दिए ।
शिक्षकहरुले विद्यालयमा बढ्दो वेथिती अन्त्य गर्न माग गर्दै आएका छन् । उनीहरुले विद्यालयका प्रअ गुप्ता विरुद्द अख्तियारमा परेको मुद्दाको तत्काल छिनोफानो हुनुपर्ने माग राखेका छन् । सर्वपक्षीय भेला र अविभावक भेलाको माग गर्दै शिक्षकले तालाबन्दी गरेका थिए । विद्यालयको पठनपाठनमा भने कुनै अवरोध नभएको बताइएको छ ।
शिक्षकहरुले विव्यस अध्यक्ष कलाम शेखको उपस्थितिमै तालाबन्दी गरेका थिए ।