बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापाका दुई वटा कार्यक्रममा सहभागी हुन गृहजिल्ला आउने भएका छन् । झिलझिलेको वाटर पार्कमा आयोजित जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्ने र झापा इनर्जीको परियोजना उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
झापाको शिवसताक्षी नगरपालिकामा रहेको सो परियोजना उद्घाटन गर्न अध्यक्ष ओली आज साढे १० बजे झापा आइपुग्ने छन् ।
नेकपा एमालेको तर्फबाट झापा निर्वाचन क्षेत्र- ४ बाट निर्वाचित साँसद एलपी साँवाले अगुवाइ गरेको यो परियोजनाको कुल लागत ८५ करोड रुपैंया रहेको छ । निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्न भएको यो परियोजनाले नेपालको विद्युतको मागलाई पुरा गर्न सहयोगी हुने साँवाले बताए । साँवाका अनुसार परियोजनाका लागि २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर निर्माण सुरु गरिएको हो ।
‘बैकल्पिक उर्जाको क्षेत्रमा झापा इनर्जीले सुरु गरेको सोलार पावर प्राजेक्ट उदाहरणीय र नमुना हुन्छ’ साँवाले भन्नुभयो ‘अन्य ठाउँमा यस्तो परियोजना सञ्चालन गर्नेहरुका लागि यो एउटा नमुना हो ।’
ठूलो क्षेत्रमा लस्करै राखिएका सोलार प्यानलका कारण यस ठाउँको सौन्दर्य पनि बढेको छ । आसपासका गाउँहरुबाट सोलार परियोजना हेर्न र तस्विर खिच्न मानिसहरुको भिडभाड लाग्ने गरेको छ । यो परियोजना निर्माणका लागि ७५ प्रतिशत रकम माछापुच्छ्र्रे बैंक र हिमालयन बैंकले लगानी गरेको छ । आयोजना स्थलबाट बुलुचोक स्थित सबस्टेशनसम्म ९ सय ६६ मिटर प्रशारण लाइन निर्माण गरिएको छ ।
सञ्चालक साँवाका अनुसार परियोजनाबाट वार्षिक १करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुन्छ । जसलाई १२ करोड ८५ लाख रुपैंयामा विक्रि गर्न सकिन्छ । परियोजनाको खरिद विक्री सम्झौता २५ वर्ष हुने छ । परियोजनाको नमुना परीक्षण पनि भइसकेको छ । अध्यक्ष ओली आजै काठमाडौं फर्किने कार्यक्रम छ ।







प्रतिक्रिया