मुख्य समाचार

शिवसताक्षीमा भेलामुनीमा कनकाई भगवतीको मन्दिर निर्माण

शिवसताक्षीमा भेलामुनीमा कनकाई भगवतीको मन्दिर निर्माण


शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका ५ भेलामुनीमा भेलामुनी धार्मिक तथा पर्यटकीय क्षेत्र निर्माण कार्य अन्तर्गत भेलामुनी कनकाई माई भगवतीको मन्दिर निर्माण गरिएको छ ।

शनिवार एक कार्यक्रमका बीच उक्त मन्दिरमा कनकाई भवगतीको प्राण प्रतिष्ठा गरिएको हो । वडा नं. ५ का स्थानीयबासीले कनकाई माईको जल लिई कलश यात्रा पश्चात कनकाई भगवतीको प्राण प्रतिष्ठा गरिएको थियो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उक्त मन्दिरको उद्घाटन समेत गरेका छन् ।

मन्दिर उद्घाटनका क्रममा बोल्दै नगर प्रमुख थोप्राले नगरपालिकाको नामै शिवसताक्षीको नामले नै धार्मिक एकताको सन्देश दिएको बताए । नगरमा सताक्षीधाम, चिल्लागढ, माइधाम, दोमुखा धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकोमा अब भेलामुनी धार्मिक तथा पर्र्यटकीय क्षेत्र थपिएको छ । उनले भने, नगरको तल्लो भेगका बासिन्दाको आस्थाको केन्द्रको रुपमा वडाले कनकाई माईको तटलाई एउटा धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर राम्रो काम गरेको छ । यसलाई शिवसताक्षी नगरपालिकाले थप संरचना निर्माणको लागि सहयोग गर्नेछ ।

कार्यक्रममा वडाध्यक्ष सिकिन पासवानले गत वर्ष वडाले विनियोजन गरेको ९ लाखले कनकाई भगवतीको मन्दिर निर्माण गरेको जानकारी दिए। शिवसताक्षीको वडा नं. ५ नगरकै पछि परेको वडा भएकाले यसलाई वडा गौरवको रुपमा धार्मिक तथा पर्यटकीय स्थलको विकास गरी पर्यटन भित्र्याउने उद्देश्य रहेको बताए । चालु आ.व.मा क्षेत्रको थप विकासका लागि वडाले २० लाख बजेट विनियोजन गरेको हाल त्यही अनुसार काम भइरहेको उनले बताए । उनले भने, वडाले निर्माण गरेको कनकाई भगवतीको मन्दिर यो नेपालकै पहिलो हो । उक्त क्षेत्रमा आजबाट ७ दिन सम्म धार्मिक उत्सव मनाइने वडाध्यक्ष पासवानले जानकारी दिए । कार्यक्रममा ७ दिनसम्म पुरानो कृष्ण लीलाको धार्मिक नाच प्रस्तुत गरिने उनको भनाई थियो ।

भेलामुनी धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष पूर्व वडाध्यक्ष सत्यनाराण राजवंशीले पिछडिएको क्षेत्रको विकासका लागि वडाले धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए । पहिलो चरणमा यहाँ मन्दिर निर्माण गरिएको अब आवश्यक पूर्वाधारहरु निर्माण गर्दै लगिने उनले जानकारी दिए । पर्यटकीय क्षेत्रका आवश्यक जग्गाको लागि पनि स्थानीयबासी सँग कुरा भइरहेको अध्यक्ष राजवंशीको भनाई थियो ।

भेलामुनी पर्यटकीय क्षेत्र पूर्व पश्चिम लोकमार्गको दूधे बजारबाट करिब १३ किलोमिटर दक्षिणमा पर्छ भने, हुलाकी राजमार्गबाट उत्तर करिब ८ किलोमिटरको दुरीमा पर्छ । वडाल उक्त क्षेत्रमा कनकाई भगवतीको मन्दिर, पर्यटकहरुलाई फोटो खिच्ने स्थान, कनकाई माइ तर्फबाट गेट निर्माण गरिसकेको छ । उक्त क्षेत्रमा आजबाट ७ दिनसम्म उत्सव मनाइने समेत बताएको छ । कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाद प्रसाई, वडा सदस्यहरु र स्थानीय बासीहरुको बाल्लो उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares