सम्पादकीय

मिटरव्याज पीडितलाई न्याय दिन ढिलाई नगर

मिटरव्याज पीडितलाई न्याय दिन ढिलाई नगर


सम्पादकीय
अनौपचारिक कारोवार गर्ने देशभरका पीडित नागरिकहरु संसद परिसर मै प्रवेश गरेको घटनाले उनीहरु असह्य पीडामा रहेको अनुभूति गराएको छ । संभवतः संसदभित्रै आन्दोलनकारीहरु प्रवेश गरेको घटना नयाँ हो । देशका ठुला ठुला आन्दोलनमा समेत संसदभित्र आन्दोलनकारी प्रवेश गरेको घटना छैन । तर, सोमवार मिटरव्याज पीडितहरु संसदभित्रै प्रवेश गरे । उनीहरुमाथिको अन्याय र सुरक्षा निकायको लापरबाहीले त्यो परिस्थितिको सिर्जना गरेको स्पष्ट छ । मिटरव्याज पीडितमाथि सामन्तहरुले अन्याय गरेका हुन् । बोलबालाहरुले अन्याय गरेका कारण उनीहरुलाई न्याय दिन सरकार पछि हटेको छ ।

अहिलेको सरकार गरिव निमुखा र अन्यायमा परेको जनताको सरकार होइन । यो सरकार मिटरव्याजीहरुको सरकार जस्तो छ । होइन भने देशभरका पीडितहरुलाई न्याय दिन किन कठिनाई भयो ? हजार लिएकाहरुलाई लाखको भार बोकाउनेहरुमाथि सरकार एक्सनमा उत्रिन जरुरी छ । अब, पीडितहरु संयमता अपनाउन छोडिसके । उनीहरुलाई न्याय चाहिएको छ । न्यायका लागि मिटरव्याज पीडितहरुले पूर्व र पश्चिम नेपालबाट पैदल यात्रा गरेर काठमाडौं पुगेका हुन् । काठमाडौं पुगेका पीडितहरुको आवाज सम्बोधन हुनैपर्छ ।

संसद्भित्र आन्दोलनकारीहरु प्रवेश गरेको घटनाले देशको सुरक्षा कमजोर रहेको स्पष्ट भएको छ । अत्यन्तै, संवेदनशिल ठाउँमा पनि सुरक्षाको लापबारही हुन्छ भने आम नेपाली नागरिकहरुको जीवन रक्षा कसरी हुन सक्ला ? अर्कोतिर हेर्दा, पीडितको आवाज नसुन्नेहरु र अन्यायमा परेको नदेख्नेहरुले पक्कै सुने होलान्, देखे होलान् । अब सरकारले गम्भीर रुपमा लिएर पीडितहरुको माग सम्बोधनमा जिम्मेवार प्रस्तुत हुनैपर्छ । र, आर्थिक कारोवार गर्दा औपचारिक रुपमा गर्न जरुरी छ । यदि, औपचारिक कारोवार गरियो भने मिटरव्याजको तनावमा कोहि पर्नु पर्दैन ।

शेयर गर्नुहोस :

0
Shares