सम्पादकीय
झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ मा भएको एउटा घटनाले समग्र बिर्तामोडबासीलाई त्रसित बनाएको छ । घटनाबारे अनुसन्धान पक्कै हुदैछ । अनुसन्धान पुुरा भएपछि यथार्थ पक्कै बाहिर आउने नै छ । यो घटनाले समाजको अपराधिक चित्रलाई छर्लङ बनाएको छ । हाम्रो समाज कुन बाटोमा जाँदैछ भन्ने एउटा उदाहरण पनि हो । झापाको दमकमा एक जना विद्यार्थीमाथि गोली प्रहार भयो । आफ्नै घरमा विष्णुमाया विष्टको हत्या भयो । सुरक्षाको दृष्टिले अति संवेदनशील बन्दै गइरहेको छ, झापा । झापाको यस प्रकारका समस्याहरुको समाधानमा प्रहरी प्रशासन र सरोकारवालाले ध्यान दिनैपर्छ ।
यो घटनासँगै झापा प्रहरीले जिल्लाका बजार क्षेत्रमा मात्र होइन, गाउँगाउँसम्म सुरक्षाको अवस्था अध्ययन गर्न आवश्यक देखिन्छ । लागुऔषधले जरो गाढेको झापामा सुरक्षाको परिस्थिति दयनीय छ । जिल्लाकै व्यस्त बजार बिर्तामोडमा साँझ परेपछि बाहिर निस्किन सक्ने अवस्था छैन । यहाँ साँझमा मात्र होइन, दिउँसो पनि समस्या नै छ । बिर्तामोडको अदुवा पुलमा रातीको अवस्था हेर्दा अत्यन्तै डरलोग्दो छ । राती दिउँसो नदेखिन अनुहारको ठुलो चहलपहल छ । होइन भने, झापाका प्रहरी प्रमुखले अनुगमन पनि गरिदिए हुन्थ्यो ।
अदुवा पुल मात्र होइन, पश्चिम स्टेण्डदेखि दक्षिण जाने बाटोमा समेत उस्तै अनुहारहरु देखिन्छ । दिउँसो लागुऔषधको व्यापार गर्ने, सेवन गर्नेहरुको राम्रै भीडमा लाग्ने गरेको छ । बिर्तामोडको हरेक गल्ली र पुलहरुमा त्यस प्रकारका मान्छेहरुको भीडभाड हुने गर्छ । राती बिर्तामोड मात्र होइन, जिल्लाका सबै बजार र गाउँमा प्रहरीको बाक्लो गस्ती चाहिएको छ । गस्ती नभएकै कारण शहर बजार र गाउँमा सुरक्षामा समस्या बढ्दै गइरहेको छ । यसलै प्रहरी प्रमुखले दिनरात कुनै पनि समय मिलाएर जोखिम क्षेत्रहरुको अनगमन गर्न आवश्यक छ । त्यस्ता जोखिम क्षेत्रको अनुगमन गरेर सुरक्षा सतर्कता अपनाउन जरुरी छ ।







प्रतिक्रिया