सम्पादकीय

नरबहादुर कर्माचार्य प्रतिष्ठानका विद्यार्थीको भविष्य जोगाऔं

नरबहादुर कर्माचार्य प्रतिष्ठानका विद्यार्थीको भविष्य जोगाऔं


सम्पादकीय
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको नाममा स्थापित ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ ले झापाको बिर्तामोड नगरपालिका २ बेलडाँगीमा प्राविधिक शिक्षालय सञ्चालन गरिरहेको छ । शिक्षालयले पाँच महिनादेखि त्यहाँ शिक्षक, प्रशिक्षक र कर्मचारीहरुलाई पारिश्रमिक उपलब्ध गराउन सकिरहेको छैन । मासिक पारिश्रमिक नपाएपछि प्रशिक्षकहरुले प्रशासन कार्यालयमा तालावन्दी गरेका छन् । यो आन्दोलन पहिलो पटक बाहिर सार्वजनिक भयो । यसअघि कयौं पटक भएका लफडाहरु बाहिर ल्याइएको थिएन । शिक्षालयभित्रको तनावलाई मिलाउन घरसम्म गएर प्रशिक्षकलाई पारिश्रमिक दिने गरेको सूचनाहरु छन् ।

बुधबार प्राविधिक शिक्षालय परिसरमा केहिवेर तनाव नै भयो । महिनौदेखि तलव नपाएका प्रशिक्षकसँग व्यवस्थापन समितिले दुई चरणमा सहमति समेत गरेको थियो । सहमति पत्र अनुसार प्रशिक्षकले आफ्नो बाँकी भुक्तानी पाउन सकेनन् । विद्यार्थीहरुले पनि नियमित कक्षा सञ्चालन हुनुपर्ने, प्रयोगशालाको व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेका थिए । तर, व्यवस्थापन समितिले कुनै पनि माग पुरा गर्न सकने । विद्यार्थीहरुको धेरै समयको पर्खाईपछि खानेपानीका भर्खरै धारा जडान गरिएको छ । फिल्टरसहितको खानेपानी विद्यार्थीले पाउन सकेका छैनन् । विद्यार्थीको माग पुरा गर्न सकिदैन भने स्थान्तरणको मागलाई सम्बोधन गरेर जानु उपयुक्त हुन्छ ।

प्रशिक्षकले काम गरेको तलव मागेका हुन् । नियमित तलव माग गरेका प्रशिक्षकले पारिवारिक समस्या आइसकेको देखाउदै पठनपाठनमा कठिनाई भइरहेको प्रतिक्रिया दिइरहेका छन् । जसका कारण नियमित पठनपाठन नै प्रभावित भइरहेको छ । अर्कातिर, प्राविधिक धारका विद्यार्थीहरुलाई प्रयोगशाला नै भएन भने अध्ययन गर्नुको औचित्य रहदैन ।

यसैले व्यवस्थापन समितिले अब अरु सहमति गरेर, गफ गरेर हुदैन । प्रशिक्षक र विद्यार्थीको मागलाई तुरुन्त पुरा गर्नुपर्छ । व्यवस्थापकीय नेतृत्वमा बसेपछि व्यवस्थापन गर्ने दायित्वबाट भाग्न मिल्दैन । कहाँबाट पैसा आएन, त्यहाँबाट आउनु पर्ने आएन जस्ता बहानाबाजी गर्नु बेठिक हो । दिनप्रतिदिन विद्यार्थीको पढाईमा समस्या भइरहेको छ ।

विद्यार्थीको भविष्यमाथि खेलवाड गने हक कसैलाई छैन । आर्थिक रुपमा शिक्षालय चरम संकटमा भएको बुझिन्छ । स्थानीय तह, प्रदेश र केन्द्रबाट आउने सहयोग रकम कहाँ खर्च भइरहेको छ ? त्यो हिसाव प्रतिष्ठानले सार्वजनिक पनि गर्नुपर्छ । जनताका छोराछोरी पढाउनका लागि राज्यका विभिन्न निकायबाट प्राप्त अनुदानको औचित्य प्रतिष्ठानले पुष्टि गर्न सक्नुपर्छ ।

शेयर गर्नुहोस :

0
Shares