काठमाडौ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाली समाजको विविधतानै नेपाली पहिचान रहेको बताउनु भएको छ । नेपालको सवै जाति, भाषा, संस्कार, संस्कृति तथा विविधताका आधार संरक्षणमा सरकार प्रतिवद्ध रहेको पनि उहाँको भनाई छ ।

पूर्वाञ्चल गन्दर्भ सांस्कृतिक उत्थान संघ झापाको प्रतिनिधी मण्डलसँग काठमाडौमा भएको भेटमा उहाँले नेपाली मौलिकता र नेपाली संगीतको संरक्षण साझा दायित्व भएको पनि बताउनुभयो । नेपाली मौलिकताको संरक्षणका लागि नयाँ पुस्तालाई आकर्षित समेत गर्न जरुरी रहेको भन्दै मन्त्री दाहालले कुनै पनि जात जातिको संस्कृति संकटमा परे राज्यको एउटा परिचायकनै संकट पर्ने समेत बताउनुभयो । सोहि कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आवश्यक सहयोगका लागि आफ्नो मन्त्रालय समेत तयार रहेको उल्लेख गर्नु भयो ।
त्यस क्रममा संस्थाका अध्यक्ष रबिन गन्दर्भले आफ्नो संस्थाले नेपाली मौलिक संगीतको संरक्षणका लागि देश व्यापी अभियान सञ्चालन गरि रहेको बताउनुभयो । २०७९ सालको माघ २९ गते देखि सातै प्रदेशमा पुग्ने गरि थालेको अभियानका क्रममा कोशी र मधेशका अधिकांश स्थानीय तह सम्म पुगेको उहाँले जानकारी दिनुभयो । बागमतीका समेत धेरै जसो स्थानमा पुगि सकेकाले अभियान अन्य प्रदेश सम्म पु¥याईने जनाईएको छ ।
गन्दर्भ जातिलाई लोपोन्मूख जातिमा सुचिकृत गर्नु पर्ने, नेपाली मौलिक संस्कृतिको संरक्षण गर्नु पर्ने, संगीत माथिको हस्तक्षेप रोक्नु पर्ने लगायतका विषयका जागरण फैल्याउन अभियान शुरु गरिएको संस्थाले जनाएको छ । त्यस क्रममा संस्थाको तर्फबाट झापाको कचनवकल गाउँपालिकामा गन्दर्भ संग्रालय, सभाहल, पहुँच मार्ग लगायतका संरचना निर्माण गर्न र गन्दर्भ वस्तिलाई ‘होमस्टे’ को रुपमा विकास गर्न आवश्यक बजेट व्यवस्था गरि दिन भन्दै ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।
जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलको संयोजनमा आएको कलाकार सहितको टोलिले विभिन्न सांगितिक प्रस्तुती समेत राखेको थियो । शिव, सृजन, लालबहादुर, सुवास र मनि गन्दर्भ सहितका कलाकारहरुले सारङ्गी, मादल सहित विभिन्न नेपाली मौलिक गीतहरु प्रस्तुत गरेका थिए ।







प्रतिक्रिया