Banner news

शिवसताक्षी ५ मा पहिलोपटक स्थानीय मातृभाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने घोषणा

शिवसताक्षी ५ मा पहिलोपटक स्थानीय मातृभाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने घोषणा

सरोज भट्टराई


शिवसताक्षी । झापामा पहिलोपटक स्थानीय मातृभाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने घोषणा गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ५ ले राजवंशी र मैथिली भाषालाई वडा कार्यालयको कामकाजमा प्रयोग गर्ने घोषणा गरेको हो ।

कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ वटा भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएसँगै शिवसताक्षी–५ ले त्यसको कार्यान्वयनको सुरुवात गरेको हो । वडामा आयोजित एक विशेष कार्यक्रममा वडाध्यक्ष सिकिन पासवानले राजवंशी र मैथिली भाषालाई वडा कार्यालयको कामकाजमा प्रयोगमा ल्याउने औपचारिक घोषणा गर्नुभयो ।
कोशी प्रदेशसभाले गत २०८३ असोज २४ गते सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक पारित गर्दै नेपाली भाषाबाहेक थप १३ वटा भाषालाई मान्यता दिएको थियो । प्रदेश सरकारको उक्त निर्णयलाई स्थानीय तहमा कार्यान्वयन गर्ने उद्देश्यले वडा नं. ५ ले यस्तो पहल गरेको हो ।

वडाध्यक्ष पासवानका अनुसार शिवसताक्षी नगरपालिका वडा नं. ५ मा राजवंशी र मैथिली भाषा बोल्ने नागरिकको उल्लेख्य बाहुल्यता रहेको छ । स्थानीय नागरिकले आफ्नै मातृभाषामा सरकारी सेवा लिन पाउने वातावरण निर्माण गर्नु यस अभियानको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।

अब वडा कार्यालयमा नागरिकले पेस गर्ने निवेदन, सिफारिसलगायतका काममा नेपाली भाषासँगै राजवंशी र मैथिली भाषासमेत प्रयोग गर्न पाउनेछन् । वडामा कार्यरत कर्मचारीहरू नेपाली, मैथिली र राजवंशी भाषा बोल्न तथा बुझ्न सक्ने भएकाले सेवाप्रवाहमा कुनै कठिनाइ नहुने वडाध्यक्ष पासवानको भनाइ छ ।

उहाँले भाषा केवल सञ्चारको माध्यम मात्र नभई समुदायको पहिचान, इतिहास, संस्कृति र सभ्यतासँग जोडिएको महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै स्थानीय भाषाको संरक्षण र प्रवद्र्धनका लागि वडाले यसलाई व्यवहारमै कार्यान्वयन गर्न खोजेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका आदिवासी जनजाति आयोगका पूर्व सदस्यसचिव कमल राजवंशीले स्थानीय भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय ऐतिहासिक र स्वागतयोग्य भएको बताउनुभयो । उहाँले विगतमा यस क्षेत्रमा छुट्टै कोच राज्य रहेको र त्यसको आफ्नै भाषा, संस्कृति, सम्पदा, रहनसहन, खानपान र पहिरन रहेको ऐतिहासिक पृष्ठभूमि स्मरण गराउनुभयो ।

उहाँका अनुसार तत्कालीन कोच राज्यमा राजवंशी, ताजपुरिया, कनाई, धिमाल, कोचे, मेचे लगायतका विभिन्न जातजातिको बसोबास रहेको थियो । ती समुदायका आफ्नै भाषा, संस्कृति र मौलिक परम्परा रहे पनि समयक्रममा ती पहिचानहरू ओझेलमा पर्दै गएको उहाँको भनाइ थियो ।

राजवंशीले ढिलै भए पनि कोशी प्रदेश सरकारले स्थानीय भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न कानुनी मान्यता दिएकोमा खुसी व्यक्त गर्नुभयो । प्रदेश सरकारको निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न अग्रसर भएकोमा उहाँले शिवसताक्षी नगरपालिका वडा नं. ५ को प्रशंसा गर्दै अन्य स्थानीय तह र वडाले पनि यसबाट प्रेरणा लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व वडाध्यक्ष सत्यनारायण राजवंशी, सामाजिक व्यक्तित्व भक्ती सिटौला, राजनारायण राजवंशी, सामाजिक अभियन्ता सूर्यनारायण ताजपुरियालगायतले स्थानीय भाषाको संरक्षण, संवद्र्धन र पुस्तान्तरण आवश्यक रहेको धारणा राख्दै वडाको निर्णयको स्वागत गर्नुभएको थियो ।

स्थानीय मातृभाषालाई सरकारी कामकाजमा स्थान दिने यो पहलले भाषिक विविधताको सम्मान गर्नुका साथै नागरिकलाई आफ्नै भाषा र पहिचानसहित राज्यका निकायबाट सेवा प्राप्त गर्ने वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले नयाँ पुस्तामा आफ्नो मातृभाषाप्रति आकर्षण बढाउन र लोपोन्मुख भाषाको संरक्षणमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu